भीरकोटमा सुरू भयो श्रीमद्भागवत गीता ज्ञान महायज्ञ

जेठ ०६, २०८०


स्मार्ट संवाददाता
६ जेठ २०८०

बिज्ञापन
विज्ञापन

स्याङ्जाको भीरकोट नगरपालिकामा श्रीमद्भागवत गीता ज्ञान महायज्ञ सुरू भएको छ। ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बयरघारी अर्थात् ओम शान्तिको आयोजनामा वडा नं ७ को ओमकारेश्वर शिव मन्दिर, मर्तमासमा जेठ ६ गते शनिबारदेखि सुरू भएको महायज्ञ १० गते बुधबारसम्म संचालन हुने आयोजक संस्थाले जनाएको छ। बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुने ज्ञान महायज्ञमा मूल्य शिक्षा एवं आध्यात्मिकता तनाव व्यवस्थापन एवं गीता विशेषज्ञ राजकुमारी ब्रह्मकुमारी अमृत दिदीले प्रवचन दिनेछ्न्।

महायज्ञको समुद्घाटन गर्दै गण्डकी प्रदेशकी उर्जा मन्त्री सरस्वती अधिकारीले गीता ज्ञानलाई यथार्थ जीवनमा प्रयोग गर्न सके जीवन सकारात्मक , सार्थक र सफल हुने बताइन् । समुद्घाटन समारोहमा भीरकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख छायाराम खनाल , नगर उपप्रमुख भगवती रेग्मी अर्याल, वडा नं ७ का वडा अध्यक्ष ताराप्रसाद अर्याल, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश कोइराला, भीरकोट स्थित विभिन्न संघ संस्थाका प्रतिनिधि, आमा समूह युवा समूहका प्रतिनिधि, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखरा र स्याङ्जा जिल्लाका विभिन्न केन्द्रका राजयोगीनी संचालिका दिदीबहिनी, विभिन्न धार्मिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो।

वर्तमान समयमा व्याप्त चिन्ता, तनाव, डिप्रेसन, दु: ख, भय र असुरक्षाले भट्कीरहेको मानव मनद्वारा सृजित समस्याहरूको निरूपण गरि जीवनमा खुशी, सुख, शान्ति , आनन्दका साथै ईश्वरीय शक्ति एवं वरदान प्राप्तिको अनुभूति गराउने उद्देश्य पाँच दिवसीय श्रीमद्भागवत गीता ज्ञान महायज्ञ आयोजना गरिएको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय बयरघारीका संचालिका ब्रमकुमारी सुवासले जानकारी दिएकी छ्न्। मानव कल्याणका लागि भगवानको अध्यात्मिक सन्देश प्रवाह गर्न निशुल्क र निस्वार्थ ज्ञान महायज्ञको आयोजना गरिएको उनको भनाई छ।

प्राय: श्रीमद्भागवत गीता ज्ञान महायज्ञलाई अर्थ संकलनको उद्देश्यले संचालन गरिने अहिलेको वर्तमान परिप्रेक्ष्यमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले भने गीताको व्यावहारिक उपयोगिताको बारेमा श्रद्धालु भक्तजनहरूलाई प्रशिक्षित गर्ने उद्देश्यले संचालन गरेको हो।ज्ञान महायज्ञमा परम्परागत पूजाआजा भन्दा पनि गीताले मानव जगतलाई दिने खोजेको व्यवहारिक र वैज्ञानिक ज्ञानको विषयमा प्रवचन दिइने छ। महायज्ञ विशुद्ध गीता ज्ञान प्रवाहको उद्देश्यले संचालन गरिने भएकाले गीता ज्ञान प्राप्त गरि मानव जीवनलाई सार्थक ,सफल र जीवन्त बनाउन चाहने सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ। यद्यपि व्यवस्थापकिय खर्चका लागि स्वेच्छिक दान भने गर्न सकिनेछ।