आलमदेवी मन्दिरमा एकैदिन १४ लाख ४४ हजार भेटी  संकलन 

चैत २५, २०८०


२५ चैत्र २०८०, आइतबार

स्याङ्जाको प्रसिद्ध आलमदेवी मन्दिरमा एकैदिन १४ लाख ४४ हजार ६ सय ६४ रूपैयाँ  भेटी संकलन भएको छ। २०१७ सालदेखि नियमित रूपमा हुँदै आएको   हरेराम संकृर्तन कार्यक्रममा उपस्थित श्रद्धालु भक्तजनहरूले शनिबार गरेको दानबाट उक्त रकम संकलन भएको मन्दिर व्यवस्थापनले जनाएको छ।

आलमदेवी मन्दिरमा दैविक शक्ति रहेको र आपतविपत् समस्या परेका बेला आलमदेवी नाम लिदा मात्रै पनि पाप मोचन हुने र आफूले पवित्र मन वचनले मागेको भाक्कल पुरा हुने जनविश्वास रहि आएको छ ।

रोजगारीको सिलसिलामा लामो समय भारतमा हराएको र आलमदेवी मन्दिरमा भाक्कल गर्दा आफ्नो छोरा घरमा आएको  कुरा स्याङ्जाको भीरकोट नगरपालिका वडा नं.७ निवासी तोलाकान्ति रेग्मीले बताईन्। त्यही विश्वासले पनि आफू बर्षेनी आउने गरेको उनको भनाई छ।

त्यस्तै गल्याङ नगरपालिका वडा नं.११ निवासी उमाकान्त अर्यालले भने आफ्नो छोरा डाक्टर होस् भनेर भाक्कल गरेको भाक्कल पुरा भएकोले मन्दिरमा १२० किलोको घण्टा चढाएको बताए ।

भारतको चित्रगठमा बस्न नसक्ने अवस्था आएपछि देवी त्यहाँबाट आउने क्रममा नेपालको मध्यभाग स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.११ कोटमा करिब ३ सय वर्ष पहिले साँझ आएर बास बसेको भोलिपल्ट बिहान आलोप भएका कारण आलोप देवी अपभ्रंशबाट आलमदेवी रहन गएको जनविश्वास   छ।आलमदेवी प्रति आस्था र विश्वास भएकाले देशका विभिन्न जिल्लाबाट दर्शन गर्नका लागि श्रद्वालुभक्तजनहरु आउने गरेको मन्दिरका पुजारी चेमलाल अधिकारीले बताए।

हाल मन्दिर व्यवस्थापनको १७ लाख, गल्याङ नगरपालिकाको १० लाख र गण्डकी प्रदेश सरकारको ५ लाख  रूपैयाँको लागतमा आलमदेवी मन्दिरको पुनर्निर्माण भैरहेको छ।

विपद् न्यूनीकरणका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी