नेकपा एमालेको वडा अधिवेशन आज

कार्तिक ०६, २०७८


भीरकोट खबर डेस्क, ६ कार्तिक २०७८



नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रथम अधिवेशन अन्तर्गत देशैभर आज वडा अधिवेशन हुँदैछ। आज स्याङ्जा जिल्लाका ९७ वटा वडामा वडा अधिवेशन हुँदैछ। पार्टीको गाउँ/ नगर अधिवेशन भने ९ गते हुनेछ।गाउँ/नगर अधिवेशनको उद्घघाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने बताइएको छ।



पार्टीको वडा कमिटि ३१ र पालिका कमिटी ७५ सदस्य हुनेछ । दुवै कमिटीमा १ तिहाई महिलाको सहभागिता गराउनुपर्नेछ । वडा र पालिका स्तरको कमिटिमा पदाधिकारी संख्या बराबर हुनेछ। जसमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव चयन हुनेछन् ।पार्टी पुनर्गठन एवं विधान महाधिवेशन पछिको पहिलो अधिवेशन भएकाले यो अधिवेशनलाई प्रथम अधिवेशन भनिएको हो।

भीरकोटका ९ वटै वडामा पनि आज वडा अधिवेशन हुँदै छ।वडा अधिवेशनबाट वडा कमिटी सँग सँगै नगरअधिवेशनको लागि २१६ जना प्रतिनिधिहरू पनि निर्वाचित हुनेछ्न्।हाल भीरकोटको नगर कमिटी ८१ सदस्यीय रहेकाले सोही कमिटीका सदस्यहरू स्वत: निर्वाचन प्रतिनिधि हुने नगर कमिटी अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिनुभयो।वडा बाट निर्वाचित २१६ र नगर कमिटिका ८१ जना गरि ३०२ दुई जना प्रतिनिधिहरूले नगर कमिटी निर्वाचनमा भाग लिने जनाइएको छ।नेपाल कम्युनिस्ट पार्टी हुँदा नगर वा वडा कमिटि आवद्ध रहेका नेकपा माओवादीका नेता तथा कार्यकर्ता पनि अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था रहेको अर्यालले जानकारी दिनुभयो।हाल नेकपा माओवादीमा रहेका जो कोही पनि एमालेमा आवद्ध हुने भए स्वत: प्रतिनिधि हुन पाउने पार्टीले जनाएको छ।