स्थानीय सरकारकै कारण भीरकोट नगर अस्पतालको बजेट फ्रीज : एमाले सचिव अर्याल

भदौ ०२, २०७९


स्मार्ट अखबार संवाददाता
२ भाद्र २०७९

नेकपा एमालेकी केन्द्रिय सचिव पद्मा अर्यालले स्थानीय सरकारकै कारण भीरकोट नगर अस्पतालको बजेट फ्रीज भएको बताउनुभएको छ। आज स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा नेकपा एमाले भीरकोट नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वमन्त्री अर्यालले भन्नुभयो, ” म मन्त्री हुँदा भीरकोट नगरको गरिमा बन्न सक्ने योजना तयार गरी भीरकोट नगर अस्पताल बनाउन १९ करोड विनियोजन गर्न पहल गरेकी थिएँ । अस्पतालको शिलान्यास पनि भएको थियो। तर भीरकोट नगरपालिकाले प्राविधिक कारण देखाई बजेट फ्रिज गराउनु निकै दु:खद कुरा हो।” विकास भन्ने कुरा साझा हुने र विकासले समाजका सबै तह तप्काका मानिसलाई समेट्ने भन्दै उहाँले विकासका काममा राजनीति नगर्न समेत जनताको नाममा राजनीति गर्नेहरूलाई चेतावनी दिनुभएको थियो। भीरकोट नगरपालिका भित्रका सहायक सडकहरूको कालोपत्रे गर्ने काम एमालेकै सरकारको पालमा भएको बताउँदै भीरकोट मुहार फेर्ने सबै योजना गठबन्धन सरकारले काटेको उहाँको आरोप थियो।

केन्द्रीय सचिव तथा पूर्वमन्त्री एवं संघीय सांसद् माननीय अर्यालले भन्नुभयो, “हालको गठबन्धन सरकारले गरेको मनपरी रोक्ने र देशको अस्तित्व बचाउने एक मात्रै अचुक उपाय भनेको आउँदो चुनावमा एमालेलाई जिताउनु हो।”

नागरिकता विधेयकदेखि महँगी र हालका सम्पूर्ण क्रियाकलापलाई नेकपा एमालेले नियालिरहेको र यी सबै क्रियाकलाप विरुद्ध सशक्त प्रतिकार गरिरहेको अर्यालको भनाइ थियो। “देशमा संवृद्धि, दिगो विकास र रोजगारी सिर्जना गर्न नेकपा एमालेको बहुमतको सरकार अनिवार्य छ।” यसको लागि महिला, युवा, विद्यार्थी, किसान लगायतका सम्पूर्ण जनवर्गीय संगठनहरुको सक्रिय भूमिका अनिवार्य रहेको र गाउँ-गाउँ, टोलटोलमा पुगेर जनमत निर्माणमा लाग्न पूर्वमन्त्री अर्यालले निर्देशन दिनुभएको छ।

सिटी हल, विभिन्न पुलहरु, बाटो र खानेपानीको निम्ति आफूले सक्ने जति सबै जोड गरेर बजेट विनियोजन गर्दा समेत काम नहुनु निकै दु:खद कुरा रहेको उहाँको भनाइ थियो।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल तथा गण्डकी प्रदेश सांसद् माननीय मोहन रेग्मीले समेत बोल्दै नेकपा एमालेको जनमत निर्माणमा गम्भीर भएर लाग्न तथा चुनावी प्रचारप्रसार तिव्र रुपमा सञ्चालन गर्न अनुरोध गर्नुभएको थियो।



तमु समाज भवन बयरघारीमा नेकपा एमाले भीरकोट नगरअध्यक्ष विश्वनाथ अर्यालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले निकट विभिन्न भातृसंगठनका नेता तथा कार्यकर्ता सहित करिब २०० जना व्यक्तिहरुको सहभागिता रहेको थियो।