स्याङ्जामा कोरोना संक्रमण बढ्यो: सक्रिय सङ्क्रमित ९० जना

साउन १७, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
१७ साउन २०७९

स्याङ्जा जिल्लामा पनि कोरोना सङ्क्रमण बढेको छ । कोरोना भाइरसको चौंथो लहरका क्रममा पुनः सङ्क्रमण बढेको तथ्याङ्कले देखाएको छ ।हालसम्म जिल्लाभर गरेर करिब ९० जना सक्रिय सङक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसन्धुरा शर्माले बताउनभुयो । ‘जिल्लाभर सङक्रमणको दर पुनः बढेको छ । हालसम्म ९० जना सक्रिय संक्रमित देखिएका छन् । हप्ताको करिब २४ प्रतिशत पोजेटिभिटीको केस छ । संक्रमित बढे पनि पनि बिरामीको अवस्था गम्भीर छैन । डेथ रेट पनि छैन ।’ शर्माले भन्नुभयो ।

शर्माका अनुसार स्याङ्जामा कोभिड विरुद्धको खोप १८ वर्षमाथि शतप्रतिशत सङ्ख्यामा लगाइसकिएको छ । उहाँले भन्नुभयो, ‘१२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई पनि कोभिड विरुद्धको खोप सेवा सम्पन्न भइसकेको छ । ५–११ वर्ष समूहकालाई खोप लगाउने कार्यक्रम आगामी भदाैकाे ५ गतेबाट सुरु हुँदै छ ।’ उहाँले थप भन्नुभयो, ‘दोस्रो लहरमा कोभिड विरुद्धको खोप नलगाएका व्यक्तिहरुमा यसको बढी असर देखिएको र क्षति पनि बढी भएको थियो । अहिलेसम्मको अनुभवले कोरोना विरुद्धको खोप नै सबैभन्दा प्रभावकारी देखिएको छ । यसबाट सुरक्षित हुने उपाय खोप नै हो ।’

कोरोना सङक्रमण पुनः बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ । सबैलाई मास्कको प्रयोग गर्न, भीडभाड गर्ने क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले बताउनुभयो । रेग्मीले भन्नुभयो, ‘कोभिड संक्रमण पुनः बढेपछि डिसिएमसीको बैठक बसेर आम सर्वसाधारण नागरिक तथा सरकारी गैह्र सरकारी सङ्घ संस्था सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सचेतना अपनाउन आग्रह गर्ने निर्णय गरिएको छ ।