काङ्ग्रेसको वडा अधिवेशन आज
भाद्र १८, भीरकोट खबर डेस्क,
पार्टीमा आन्तरिक प्रजातन्त्र सुदृढ गर्दै नयाँ नेतृत्व चयन गर्नका लागि नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेसको महाधिवेशन कार्यतालिका र विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत आजदेखि देशैभरी वडा अधिवेशन हुने भनिएको भए पनि ५६ वटा जिल्लामा मात्रै वडा अधिवेशन हुने भएको छ । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले केन्द्रीय नेताहरु पनि वडा तहसम्मै सक्रिय भएका छ्न् । एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि कृयाशिल सदस्यता विवादका कारण २१ जिल्लामा भने वडा अधिवेशन नहुने भएको छ । भीरकोटका ९ वटै वडामा वडा अधिवेशन हुँदैछ । क्षेत्रीय प्रतिनिधि र वडा समिति चयनका लागि आज निर्वाचन हुँदैछ । भीरकोट नेपाली काङ्ग्रेसको सबैभन्दा बलियो क्षेत्र हो । कृयाशिल सदस्य र आकांक्षीको संख्या पनि धेरै भएकाले चुनावी नतिजाका लागि सबै आतुर छ्न् ।