भीरकोटद्वारा टुहुरा-अनाथ बालबालिकाहरूको अभिभावकत्व ग्रहण
भदौ ३०, भीरकोट खबर डेस्क,
गण्डकी प्रदेशको दोस्रो र स्याङ्जा जिल्लाको पहिलो बालमैत्री नगरपालिका भीरकोटले टुहुरा/अनाथ बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको छ। ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित समारोहमा बोल्दै बालबालिका तथा शिक्षाप्रेमी नगर प्रमुख छायाराम खनालले बाल दिवसकै अवसर पारेर नगरपालिकाले आमाबाबु बिहिन टुहुरा/अनाथ बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेको बताउँदै उनीहरूको आधारभूत आवश्यकता परिपूर्तिको लागि नगरले १८ बर्ष सम्म मासिक रू.१००० दिने पनि घोषणा गर्नुभएको हो।समारोहमा उपस्थित केही अनाथ/टुहुरा बालबालिकाकाहरूलाई नगद रू १००० र फुलमाला सहित सम्मान गर्दै उहाँले नगरपालिका भित्र करीब १७ जना त्यस्ता बालबालिका रहेको जानकारी दिनुभएको थियो।यदि नगर भित्र अन्य कोही त्यस्तै बालबालिका रहेको जानकारी भएमा वडा तथा नगरमा सम्पर्क गरि उक्त सुविधा लिन समेत आग्रह गर्नुभएको थियो।नगरले प्रदान गरेको सामाजिक सुरक्षाको यो कार्यक्रममा सहभागी हुन जन्म दर्ता ,वडा कार्यालय र विद्यालयको सिफारिस सहित नगरपालिकामा सम्पर्क गर्नुपर्ने प्रष्ट पार्दै उहाँले कसैले पनि यसको अनुचित फाइदा लिने प्रयास नगर्न सबैलाई अनुरोध गर्नुभएको थियो। नगरले बालविवाह अन्त्यका लागि काम गरिरहेको बताउँदै उहाँले नगरमा बालश्रमिकको संख्या शुन्य रहेको जानकारी पनि दिनुभएको थियो।
बाल दिवस समारोहमा आफ्नो संक्षिप्त मन्तव्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले नगरपालिकाले बालमैत्री स्थानीय शासनको दीगोपनालाई लक्षित गरेर नगरका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।बाल अधिकार संरक्षण र सम्वर्धनमा नगरपालिका सदैव लागि परेको प्रष्ट पार्दै उहाँले सरोकारवाला सबैलाई बालमैत्री स्थानीय शासनको दीगोपनाका निम्ति नगर सँग सहकार्य गर्न समेत अनुरोध गर्नुभएको थियो।