नवनिर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

जेठ १०, २०७९


स्मार्ट अखबार संवाददाता
१० वैशाख २०७९

चापाकोट नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित प्रतिनिधिहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरेको छ । आज चापाकोट नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित उपप्रमुख,वडा अध्यक्ष तथा सदस्य गरि जम्मा ५१ जना प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण तथा सपथ ग्रहण सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित नगरप्रमुख देव बहादुर खाँड(ईश्वर)ले आफुलाई नगरप्रमुख पदमा निर्वाचित गराएकोमा नगरवासीलाई धन्यवाद दिदै कार्य अवधिभर निष्पक्ष रुपमा जनताको सेवकका रुपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“निर्वाचनको समयमा राजनैतिक पार्टीको उम्मेदवारका रुपमा आएपनी आज हाम्रो अर्जुन दृष्टि समग्र नगरपालिकाको समृद्धि र विकास गर्नु हो । चापाकोट नगरपालिका विकासका लागी म लगायत सम्पुर्ण नवनिर्वाचित टिमले प्रत्यक वडाको आवश्यकतालाई मुल्यांकन गर्दै नगरवासी, विज्ञ तथा बुद्धिजीवी, युवा साथीहरू, प्रतिपक्षी दलको सरसल्लाह र सुझाव अनुरुप अगाडि बढ्नेछौँ र हामीलाई विश्वास गरेर यो ओहोदामा पुर्याउनुहुने समग्र नगरवासिको शिर उच्च हुनेगरी काम गर्ने छौँ ।” नवनिर्वाचित नगरप्रमुख खाँड बताउनुहुन्छ ।



कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले नवनिर्वाचित प्रतिनिधिहरुलाई शुभकामना दिदै आग्रह पुर्वाग्रह नराखी चापाकोट नगरपालिकाको समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नवनिर्वाचित प्रतिनिधिहरु सबैको पार्टीको प्रभावलाई हावी हुननदिइ काम गर्नुहुनेछ, इतिहासबाट सिकेर नकारात्मक पक्ष त्याग्दै सकारात्मक पक्षलाई आत्मसाथ गर्दै चापाकोटको समृद्धिको लागी नयाँ योजनाका साथ लाग्न सबैमा शुभकामना ।”

कार्यक्रमका अध्यक्ष तथा चापाकोट नगरपालिका निर्वाचन अधिकृत सुरेन्द्रनाथ काफ्लेले निर्वाचन कुशलतापुर्वक सफल भएको बताउदै चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी, विभिन्न दलका नेता तथा उम्मेदवार, पत्रकार , सुरक्षाकर्मी लगायत सम्पूर्ण नगरवासीहरुलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो ” निर्वाचनमा हामीलाई नगरपालिकाका कर्मचारी यहाँका नेता कार्यकर्ता ,पत्रकार , सुरक्षाकर्मी लगायत सम्पूर्ण नगरवासीहरुबाट आशा गरेभन्दा राम्रो सहयोग भयो , निर्वाचन कुशलतापुर्वक अनुशासित रूपमा सम्पन्न भयो ।”

नव निर्वाचित प्रतिनिधिहरुलाई शुभकामना दिदै उहाँले सार्वजनिक जवाफदेहीताको पदमा निर्वाचित भैसकेपछि यो सुन्दर भुमि चापाकोटलाई अझै सुन्दर र समृद्ध बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । चापाकोट नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।