स्याङ्जामा व्यवसायीक फर्महरु बन्द हुने क्रम बढ्यो

साउन १५, २०८०


१४ साउन, २०८०

आर्थिक मन्दिको प्रभाव साना तथा घरेलु व्यवसायमा समेत पर्न थालेको छ। आर्थिक मन्दीका कारण स्याङ्जामा व्यवसायिक फर्महरु बन्द हुने क्रम ह्वात्तै बढेको छ । स्याङ्जामा गत आर्थिक वर्ष २०७९/८० मा २६३ फर्महरु बन्द भएका छन् । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका अनुसार जिल्लामा अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष २०७९/०८० मा धेरै व्यवसायीक फर्महरु बन्द भएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ८९ फर्महरु बन्द भएका थिए । गत आर्थिक वर्षमा बन्द हुने फर्महरुमा कृषि तथा पशुपंक्षी तथा व्यापारीक फर्महरु रहेका छन् । पछिल्लो समय फेन्सी तथा कष्मेटिक पसलहरु पनि बन्द गराउने बढेका छन् । व्यापार ओरालो लागेपछि घरभाडा तिर्न र व्यवसाय संचालन गर्न समेत धौधौ परेको व्यवसायीहरूको भनाइ छ।

गत आर्थिक वर्ष २०७९/८० झण्डै ८ सय नयाँ उद्योग थपिएका थिए । यो संख्या अघिल्लो आर्थिक वर्षमा भन्दा निकै कम हो । आर्थिक वर्ष २०७९/०८० मा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जामा ७९८ उद्योग दर्ता भएका छन् । दर्ता हुनेमा उद्योग र वाणिज्य गरी दुई थरीका उद्योगहरु रहेका छन् । उद्योग दर्तामा ५२६ र वाणिज्यमा २७२ उद्योग दर्ता भएका छन् ।

उद्योग तर्फ उत्पादनमुलक उद्योग २१, कृषि तथा पशुपंक्षी फर्म ३४९, पर्यटन तथा होटल रेष्टुरेन्ट ७५, सूचना प्रविधि १ र सेवामुलक ८० गरी ५२६ उद्योग गत आर्थिक वर्ष दर्ता भएका थिए । त्यस्तै वाणिज्यतर्फ निजी २६७, साझेदारी ३ र प्रालि २ उद्योग दर्ता भएका कार्यालयका कम्प्युटर अपरेटर तथा योजना शाखा प्रमुख कृष्ण लम्सालले जानकारी दिए । यसरी उद्योग दर्ताबाट कार्यालयले गत आर्थिक वर्षमा ५१ लाख ८६ हजार ४९७ रुपैँया राजस्व संकलन गरेको छ भने गत वर्ष कार्यालयले ७ पटक बजार अनुगमनको कार्यक्रमहरु गरेका कार्यालयका अपरेटर लम्सालले बताए।

कार्यालयमा अघिल्लो आर्थिक वर्षमा ८९४ उद्योग र ६८४ वाणिज्य फर्महरु दर्ता भएका थिए । यसरी १ हजार ५७८ उद्योगहरु दर्ता हुँदा ७० लाख ४ हजार ३४५ रुपैँया राजस्व संकलन भएको थियो । यसरी अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक  वर्षमा उद्योग तथा फर्महरु दर्ता हुने क्रम तुलनात्मक रुपमा घटेको छ । उद्योग दर्ता क्रम घट्नुमा आर्थिक तरलता, युवाहरु बैदेशिक रोजगारीमा आर्कषित हुनु मुख्य कारण रहेको कार्यालयका प्रमुख ठाकुरप्रसाद ढकालले बताए ।

विज्ञापन

ढकालले भने, “मुख्य त उद्योग दर्ता कम हुनुको कारण आर्थिक मन्दी नै हो । आर्थिक मन्दीका कारण देशभरी नै फर्म बन्द गर्नेको संख्या बढी छ भने नयाँ फर्म तथा व्यवसाय गर्ने घटेका छन् । स्याङ्जामा पनि बन्द गर्ने बढेका छन् ।” प्रदेश सरकारले उद्योग व्यवसाय धरासयी बन्दै जाँदा राहतको प्याकेजका कार्यक्रमहरु ल्याएमा राहत हुने कार्यालय प्रमुख ढकालको भनाई छ । आर्थिक मन्दीका कारण व्यापार घाटा सहनु भन्दा फर्म नै बन्द गर्न थालेका छन् । घरेलु तथा साना उद्योगको विकासले नै देशको समृद्धि हुने भएकाले यसका लागी तिनै तहका सरकार मिलेर उचित कदम चाल्नुपर्ने देखिन्छ ।