१ अर्ब भन्दा बढीको सुन्तला उत्पादन, जिल्लाको राजस्वमा योगदान शुन्य

माघ १०, २०८०


नारायणप्रसाद कोइराला
१० माघ २०८०

सुन्तलाको राजधानी स्याङ्जामा २ हजार २ सय हेक्टर क्षेत्रफलमा व्यवसायिक सुन्तला खेती गरिएको छ। यो वर्ष १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको छ l प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनाले गरेको बाली  उत्पादकत्व निर्धारण तथा सुन्तला  बाली कटानी सर्वेक्षणबाट सो नतिजा प्राप्त भएको कार्यालय प्रमुख माधव लम्सालले बताए l उनका अनुसार यस वर्ष  प्रति हेक्टर उत्पादन १४.४६ मेट्रिक टन रहेको छ l

किसानले बगैंचामा प्राप्त गर्ने औसत मूल्य प्रति केजी ५५ देखि ६० रुपैयाँको दरले हिसाब गर्दा यो वर्ष स्याङ्जामा करिब  १ अर्ब १० करोड बराबरको सुन्तला उत्पादन  भएको सुन्तला सुपरजोन परियोजना  कार्यालय प्रमुख लम्सालले बिजपाटीलाई बताए l

जिल्लामा एक अर्ब भन्दा बढीको सुन्तला उत्पादन र बिक्रीवितरण हुँदा पनि स्थानीय सरकारहरू र कर कार्यालयले १ रूपैयाँ पनि प्रत्यक्ष रूपमा राजस्व संकलन गर्न सकेका छैनन् । सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले स्याङ्जाका कुनै पनि स्थानीय सरकारले सुन्तला व्यापारीहरूसँग कर लिन सक्ने गरी कानुन निर्माणमा चासो नदिएको बताए। भीरकोट नगरपालिका वडा नं ७ का अध्यक्ष समेत रहेका अर्यालले भीरकोट नगरपालिकामा यो वर्ष करिब २० करोडको सुन्तला बिक्रिवितरण भएको जानकारी दिदै स्थानीय सरकारले आवश्यक कानुन निर्माणमा चासो नदिदा लाखौं राजस्व गुमाएको तितो यथार्थ पोखे।

करदाता सेवा कार्यालय पुतलीबजार, स्याङ्जामा पनि सुन्तला बिक्रीबाट देखिने गरि कुनै पनि राजस्व विवरण उपलब्ध छैन। करदाता सेवा कार्यालय स्याङ्जाका प्रमुख विजय भुसालले कृषि फर्म नविकरण बापत कृषकहरूले राजस्व तिरेको भएपनि सुन्तला खरिद बिक्रीबाट प्रत्यक्ष रूपमा कुनै राजस्व प्राप्त भएको बताए।

जिल्लामा सुन्तला खेती विस्तार एवं प्रबर्धनका लागि वार्षिक करिब २ करोड ५० लाख लगानी भैरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण  सुन्तला सुपरजोन कार्यालय स्याङ्जाका प्रमुख माधव लम्सालले जानकारी दिए। तर सुन्तला बिक्रीवितरणबाट राज्यले कर प्राप्त नगरेको विषयमा आफूले कुनै टिप्पणी गर्न नमिल्ने उनको दाबी छ।

स्याङ्जाको सुन्तला रसिलो र स्वादिलो हुने हुँदा पोखरा,बुटवल लगायतका ठाउँमा माग उच्च रहेको कृषक तथा व्यापारीहरूको अनुभव छ । स्याङ्जाको पुतलीबजार नगरपालिकामा सबैभन्दा बढी ८५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने सबैभन्दा कम फेदिखोलामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ l यसैगरी भीरकोटमा ३५० हेक्टर , अर्जुनचौपारीमा २७० हेक्टर, वालिङमा २४० हेक्टर, आँधिखोलामा १२५ हेक्टर, गल्याङमा १३० हेक्टर, विरुवामा १५५ हेक्टर र हरिनासमा ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यवसायिक खेती गरिएको छ l जिल्लामा उत्पादित सुन्तला मध्ये १० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ भने ९० प्रतिशत सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ l