दर्शनको दर्शन “WHITE WORDS” : पुस्तक समिक्षा

चैत २९, २०७९


नारायण प्रसाद कोइराला
२९चैत्र २०७९

शिर्षक : White Words
लेखक: दर्शन पाठक
विधा: कविता
भाषा: अंग्रेजी
मूल्य :$3
प्रकाशन : बाबा छापाखाना,बुटबल

हरेक शब्दलाई तस्बिरमा र तस्बिरलाई शब्दमा उतार्न सक्नुपर्छ भन्ने सोचाइ राख्ने लेखक दर्शन पाठकद्वारा लिखित WHITE WORDS जीवानुभूतिको सँगालो हो। ९३ वटा स्वछन्द शैलीमा रचिएका कविता र साहित्यक निबन्धमा पाठकले आफ्नो जीवनमा भोगेका, देखेका र कल्पना गरेका विषयवस्तुलाई विशिष्ट तरिकाले प्रस्तुत गरेका छ्न्। WHITE WORDS मा कृतिको नाम जस्तै हरेक शब्दहरू सेतो रङ्गमै उतारिएका छ्न् र किताबको पानाहरू भने काला छ्न्। जहाँ कालो रंगको पृष्ठभूमिले यो समाजमा रहेका नकारात्मक पक्षलाई इंकित गर्दछ भने सेता अक्षरहरूले समाजमा रहेका सकारात्मक सोचाइ, आशावादी सोचाई र सम्भावनाहरूलाई प्रस्तुत गर्दछ्न्।

अंग्रेजी भाषा र साहित्य सिक्न, बुझ्न र जान्न चाहने सबैको लागि उपयोगी यो पुस्तकले हामी भित्र रहेको अन्धकारमा समेत उज्यालो खोज्न सिकाउँछ। सामाजिक, व्यक्तिगत र बौद्धिक विषयवस्तुलाई सरल र साहित्यिक दुबै तरीकाले प्रस्तुत गरिएको यो कृतिमा लेखकको शिक्षण अनुभव समेत समेटिएका छ्न्। माइक्रोबायोलोजी र समाजशास्त्रका शब्दहरूको अलिक बढी प्रयोग गरिएको यो कृतिका केही विषयवस्तु र शब्दावली सामान्य पाठकका लागि सेता अक्षरमात्र पनि हुन सक्छ्न्। नाम जस्तै हरेक विषयवस्तुलाई दर्शनकै रूपमा व्याख्या गर्न सक्ने पाठकको जीवन दर्शन बुझ्न र समाजलाई हेर्ने अर्को एउटा फरक दृष्टिकोणलाई बुझ्न् समेत सघाउँछ। काव्यात्मक शैलीमा कहिँकतै साहित्यिक निबन्धहरू समेत मिसिएका छ्न्।