भीरकोटमा ५६ युनिट रगत संकलन

बैशाख १०, २०७९


स्मार्ट अखबार संवाददाता
१० बैशाख २०७९

“रगत नालीमा हैन मानिसको नाडिमा बगाऔं” भन्ने मूल नाराका साथ भीरकोट नगरपालिकाको केन्द्र बयरघारीमा संचालन गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ।विश्वव्यापी रूपमा मनाइने मानव एकता दिवसको पावन अवसरमा सन्तनिरङ्कारी मण्डल बयरघारी, भीरकोट जेसिज,आँधीखोला पिस युथ क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रमको समुद्घाट्न गर्दै भीरकोट जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जीवनको सर्वोत्तम दान रक्तदान गरी रगतको अभावमा मृत्युशैयामा छ्टपटाइरहेका बिरामीलाई पुनर्जीवन प्रदान गर्न आह्वान गर्नुभएको थियो।कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख छायाराम खनालले समाजमा हुने रक्तदान र परोपकारी कार्यलाई आफूले सदैव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।सन्त निरकारी मंण्डल बयरघारीका अध्यक्ष याम बहादुर खत्रीले रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई आभार ब्यक्त गर्नुभएको थियो।

२० जना महिला र ३६ जना पुरुष दानवीरबाट संकलित जम्मा ५६ युनिट रगत क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ ।



भीरकोट जेसिजका अध्यक्ष पौडेलले पनि रक्तदान कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको थियो।