विश्व हिन्दु महासंघ स्याङ्जाको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम सम्पन्न ।

कार्तिक २०, २०७७


भीरकोट खबर डेस्क:

विश्व हिन्दु महासंघ स्याङ्जाले विजया दशमी तथा दीपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सप्पन्न गरेको छ । भीरकोट नगरपालिकाको तमु समाज भवनमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै नगरप्रमुख छायाराम खनालले विजया दशमी, शुभ दीपावली एवं विभिन्न पर्वहरूको पावन अवसरमा सद्भाव अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरेकोमा विश्व हिन्दु महासंघ स्याङ्जा शाखालाई विशेष धन्यवाद व्यक्त गर्दै मानव सृष्टिसंगै वैदिक सनातन धर्मको सुरूवात भएको प्रष्ट पार्नुभयो । सभ्य समाजको निर्माणमा सबै वर्ग, जाती, सम्प्रदायको अहम् भुमिका रहने प्रष्ट पार्दै धर्मका नाममा कोही पनि विभाजित हुन नहुने बताउनुभयो । धार्मिक सहिष्णुता आजको आवश्यकता रहेको बताउँदै उहाँले वैदिक सनातन धर्मको संरक्षणमा हामी सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियोे ।

विश्व हिन्दु महासंघ स्याङ्जा शाखाका अध्यक्ष हरिहर पाण्डेको सभापतित्व र भीरकोट तदर्थ समिति संयोजक अमृत अर्यालको संचालन रहेको उक्त कार्यक्रममा बोल्दै नेकपा नेता एवं समाजसेवी सन्तोष के.सी.ले धर्मले हामी सबैलाई एकताको सुत्रमा बाध्न सहयोग गर्ने बताउँदै धर्म विज्ञान, परिवर्तनको संवाहक र संस्कार एवं सस्कृतिलाई नेतृत्व प्रदान गर्ने माध्यम हो र यसले हामीलाई अनुशासनमा बस्न तथा विकृती र विसङ्गतीबाट जोगिन सहयोग गर्नेमा जोड दिनुभयो ।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य पंण्डित नेत्रप्रसाद पराजुलीले वेद नै विश्वको सबैभन्दा पुरानो धार्मिक एवं वैज्ञानिक ग्रन्थ भएको प्रष्ट पार्दै वैदिक ज्ञान र संस्कारको सही सदुपयोग गर्न सकेमा मात्र हामी उदयीमान बन्न सक्छौं भन्नुभएको थियो । संविधानमै धर्म निरपेक्षता उल्लेख गरेर नेपाली वैदिक संस्कार र संस्कृति प्रती सुनियोजित रूपमा हमला गरिएकोमा आपत्ति प्रकट गर्नुभएको थियो । कार्यक्रममा भीरकोट नगरपालिका उपप्रमुख सिमा के.सी. कर्माचार्यले जातीय विभेदका कारण धर्म परिवर्तनको क्रम बढेको बताउँदै धर्म संस्कृतिको सही व्याख्या विश्लेषण गरी वैदिक सनातन धर्मको रक्षार्थ एकजुट भएर अगाडी बढ्न महासंघ नेतृत्वलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा विश्व हिन्दु महासंघ गण्ड्की प्रदेश उपाध्यक्ष लक्ष्मण भट्टराई, महासंघ स्याङ्जा सभापति हरिहर पाण्डे लगायतका व्यक्तिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै हिन्दु धर्म संस्कारको संरक्षण र सदुपयोगको दायित्व सबै सस्कार अनुयायीहरूको रहेको कुरामा जोड दिनुभएको थियो।