खेलमैदान बनेपछि बढ्यो फुटबलमा आकर्षण
स्मार्ट अखबार संवाददाता
६ फागुन २०७८
एक पालिका एक खेलमैदानको अवधारणा अन्तर्गत खेलमैदान निर्माण भएपछि स्याङ्जाको भीरकोटका युवा तथा बालबालिका फुटबल खेलप्रती आकर्षित भएका छ्न्। प्रदेश सरकारको करिब ३२ लाख लगानीमा बयरघारी सिसौघारीमा खेलमैदान बनेको छ। उक्त खेलमैदानमा बयरघारी फुटबल एकेडेमीका अध्यक्ष एवं फुटबल प्रशिक्षक राजकुमार गुरूङले हरेक दिन बिहान २ घण्टा फुटबल सिकाउनुहुन्छ। हरेक दिन करिब ४ दर्जन युवा तथा बालबालिका नियमित रूपमा खेल अभ्यासमा सहभागी हुन्छ्न्। एकेडेमीका अध्यक्ष राजकुमार गुरुङको पहलमै अलपत्र निर्माणाधीन खेलमैदानलाई खेल्न योग्य बनाइएको हो। एकेडेमीका अध्यक्ष गुरूङकै पहलमा होलीका अवसरमा खेलमैदानमा बयरघारी फुटबल एकेडेमीका प्रशिक्षार्थी खेलाडी र मर्दीखोला युनाइटेड क्लब, पर्वतबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो।मैत्रीपूर्ण खेल प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख छायाराम खनालले खेलकुदको विकासका लागि सबै खेलाडीहरू र सरोकारवाला निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो।
खेल अभ्यासका लागि गुरूङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरू पनि ल्याउने गर्नुभएको छ। आज इजिप्टका फुटबल प्रशिक्षक इस्लाम कासिमले फुटबल प्रशिक्षण दिनुभएको थियो। इजिप्ट, भारत र टर्कीमा समेत फुटबल प्रशिक्षण दिनुभएका प्रशिक्षक कासिमले नेपाली खेलाडीहरूमा क्षमता र संभावना भएपनि खेल पूर्वाधारको अभावमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा अपेक्षित सफलता हात नपारेको बताउनुभएको थियो।
विदेशी प्रशिक्षकलाई स्वागत गर्न प्रशिक्षण स्थलमा पुग्नुभएकी नगर उपप्रमुख सिमा के.सी. कर्माचार्यले युवा बालबालिका नियमित खेल अभ्यासमा सहभागी हुँदा उनीहरू शारीरिक रूपमा स्वस्थ र मोबाइल गेम एवं दुर्व्यसनबाट टाढा रहेकोमा खुसी व्यक्त गर्नुभएको थियो। खेलमैदान पुग्नुभएका नेपाली काङ्ग्रेस नगर सभापति याम प्रसाद अधिकारी (लक्ष्मण) ले बयरघारी फुटबल एकेडेमीका अध्यक्ष गुरुङको सत्प्रयासको प्रशंसा गर्दै खेलमैदानलाई थप विकसित र व्यवस्थित गर्न सरोकारवाला निकायहरूमा समन्वय गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
प्रदेश खेलकुद मन्त्री राजीव गुरूङको पहलमा खेलमैदानको स्तरोन्नति गर्नका लागि ५ लाख रूपैयाँ बजेट विनियोजन भैसकेको फुटबल एकेडेमीका अध्यक्ष गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त रकम खेलमैदानमा दुबो रोप्नका लागि प्रयोग गरिनेछ। नियमित खेल अभ्यास एवं प्रशिक्षण हुन थालेपछि फुटबल सिक्न आउँने बालबालिकाको संख्यामा ह्वात्तै वृद्धि भएको छ।
नगरस्तरीय खेलमैदानको विकास र विस्तारमा नगरपालिकाले आवश्यक चासो नदिँदा खेलमैदान ११ “ए” साइड फुटबल खेल्न पर्याप्त छैन। यसैगरी फुटबल बाहेक अन्य खेल अभ्यासका लागि अहिले सम्म कुनै पूर्वाधारको विकास भएको छैन्।