दुग्ध सहकारी नै दुधको बजारीकरणमा असफल

कार्तिक १८, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
१८ कार्तिक २०७९

विज्ञापन
बिज्ञापन

स्याङ्जाको भीरकोट नगरपालिकामा दुग्ध सहकारी नै किसानहरूले उत्पादन गरेको   दूधको बजारीकरण  गर्न असफल भएको छ। गण्डकी प्रदेश सरकार र नगरपालिकाबाट आर्थिक, प्राविधिक र भौतिक सहयोग पाएको  “भीरकोट दुग्ध सहकारी” ले किसानहरूले उत्पादन गरेको गाई भैंसीको दूध नियमित खरिद गरी बजारमा बेच्दै आएको छ। तर नगरपालिकाले दुधको बजार खोज्न आवश्यक चासो नदिदा किसानहरूबाट खरिद गरिएको सबै दूध बेच्न नसकिएको सहकारीले जनाएको छ ।

व्यवस्थापक ओम बहादुर गुरूङका अनुसार संस्थाले किसानबाट दैनिक १ सय लिटर भैंसीको दूध र २ सय ५० लिटर गाइको दूध खरिद गरि बजारमा बिक्रि गर्दै आइरहेको छ । किसानबाट गाइको दूध प्रती लिटर ५० रूपैयाँमा  मा खरिद गरिन्छ भने भैंसीको दूध प्रतिलिटर ९५ रूपैयाँमा खरिद गरिन्छ। गाइको दुध प्रतिलिटर ८० रूपैयाँमा बेचिन्छ भने भैसीको ११० रूपैयाँ प्रतिलिटरमा बेचिन्छ । व्यवस्थापक  गुरूङका अनुसार  गाइको  सबै दूध सुजल डेरी उद्योग पोखराले खरिद गर्ने हुनाले गाइको दूध बेच्न कुनै समस्या छैन। तर भैंसीको दूध बेच्न नसक्दा फाटेर यत्तिकै खेरा फाल्नुपरेको उहाँको भनाई छ। बेच्न नसकिएको दुधको पनिर उत्पादन गरेपनि बजारकै समस्या रहेको व्यवस्थापक गुरूङको भनाइ छ । संस्थाको स्टोर क्षमता १ हजार लिटर छ । नगरपालिकाले सहकारीबाट दैनिक ८ देखि १३ लिटर सम्म दूध खरिद गर्दै आएको छ।
सहकारीका अध्यक्ष राधाकृष्ण अर्यालका अनुसार नगरपालिकाले अन्यत्रबाट आउने र मिसावट भएका दुधमा नियन्त्रण नगरिदिंदा बजारीकरणमा समस्या भएको हो । नगरपालिकालाई पटकपटक यसका लागि अनुरोध गरेपनि चासो नदिएको उहाँको दाबी छ। यस विषयमा नगरप्रमुख गोबिन्द कुमार कर्माचार्यलाई सम्पर्क गर्दा उहाँले सहकारीको व्यवस्थापकीय कमजोरीको कारण नै बजारीकरणमा समस्या परेको हुनसक्ने बताउनुभयो । नगर प्रमुख कर्माचार्यका अनुसार पालिकाले दूध ढुवानीमा मासिक ४५ हजार बराबरको अनुदान सुविधा दिएको छ। दुधको बजारीकरणका लागि नगरपालिका सहकारीलाई सबैखाले सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । दुधको गुणस्तर अनुसारको खरिद तथा बिक्रि मूल्य कायम गर्न सके बेच्न कुनै समस्या नरहेको उहाँको दाबी छ ।
भीरकोटमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भैंसी सुपरजोनका कार्यक्रमहरू संचालन भैरहेका छ्न्।यस अन्तर्गत भैंसी खरिद, भकारो सुधार, औषधि उपचार र घाँस उत्पादनमा आर्थिक तथा प्राविधिक सहयोगका कार्यक्रमहरू संचालन भैरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाका परियोजना प्रमुख माधव लम्सालले जानकारी दिनुभयो।दुधको बजारीकरणमा समस्या भएको खण्डमा नजिकको बजार वा पोखरा सम्म पनि न्युनतम शुल्कमा ढुवानीको व्यवस्था मिलाउन सकिने उहाँको भनाइ छ । तर भीरकोट दुग्ध सहकारीले यस विषयमा परियोजनासँग कुनै समन्वय र सहकार्य गरेको छैन । दुग्ध सहकारीले बजारीकरण गर्न नसक्दा सबै किसानहरूले दूध बेच्न पाएका छैनन् ।खरिद गरिएको दूध समेत बेच्न नसक्दा फाटेर फाल्नु परेको व्यवस्थापक गुरूङले बताउनुभएको छ।
भीरकोट दुग्ध सहकारीले विगत ३ वर्षदेखि दुधको कारोबार गर्दै आएको छ । नगरपालिकाभित्र पशुपालन र कृषिको लागि मात्रै स्थानीय सरकार, प्रदेश सरकार र युएनडिपीको ५ करोडभन्दा माथिका विभिन्न योजनाहरू छ्न् । तर उत्पादन भैरहेको दुधले बजार पाउन नसक्नु लाजमर्दो कुरा हो।