भीरकोट बचत तथा ऋण सहकारी संस्थाको समुद्घाटन

असोज १६, २०७८


“सबैको हात एक साथ ” भन्ने नाराका साथ स्थापना भएको भीरकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समुद्घाटन भएको छ। सहकारीको समुद्घाटन समारोह तथा प्रारम्भिक साधारण सभाका प्रमुख अतिथी एवं भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले समुद्घाटन गर्नुभएको हो। भीरकोट सहकारी २०७७ साल चैत्र २३ गते भीरकोट सहकारी ऐन २०७५ बमोजिम स्थापना भएको थियो। भीरकोट नगरपालिकालाई नै आफ्नो मुख्य कार्यक्षेत्र बनाएर स्थापना गरिएको सहकारीमा स्थानीय युवाहरूको सक्रिय संलग्नता छ। सहकारीको प्रधान कार्यालय वडा नं १ बयरघारी, प्रगति टोलमा रहेको छ।

संस्थाका कार्यबाहक अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख सिमा के.सी कर्माचार्य ,नगर प्रवक्ता एवं वडा नं १ का अध्यक्ष दीपेन्द्र के.सी, मुक्तिनाथ विकास बैंकका शाखा प्रमुख केशवराज अर्याल,नेपाल बैंक लिमिटेड वालिङ्का शाखा प्रमुख सन्दिप काफ्ले ,समाजसेवी श्यामकाजी अधिकारी, नेपाली काङ्ग्रेस नगर उपसभापति एवं बोर्ड सदस्य विष्णुमाया काफ्लेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
समुद्घाटन समारोहमा बोल्दै नगर प्रवक्ता के.सी.ले भीरकोटका सबै सहकारीसँग सहकार्य गर्न र सहकारीको सिद्धान्त अनुसार संस्था संचालन गर्न संचालकहरूलाई आग्रह गर्नुभएको थियो। विशिष्ठ अतिथी तथा नगर उपप्रमुख सिमा के.सी कर्माचार्यले नाफामुखी भन्दा पनि सेवामुखी भएर संस्था संचालन गर्न आग्रह गर्नुभएको थियो।
प्रमुख अतिथी एवं नगर प्रमुख खनालले गरिब तथा विपन्न बर्ग लक्षित भएर उनीहरूको जीवनस्तर उकास्ने तरिकाले संस्था संचालन गर्न आग्रह गर्नुभएको थियो। जनताको जीवनस्तर र चेतनास्तर उकास्ने खालका सहकारीका सबै गतिविधिमा नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो। उहाँले नगरपालिका भित्रका अति विपन्न १०० घर परिवारलाई समेटेर भीरकोट सहकारीले सदस्य बनाएमा रू १००० प्रती परिवारका दरले उनीहरूको लागि नगरपालिकाले नै शेयर खरिद गरिदिने घोषणा पनि गर्नुभएको थियो। बालबालिका मैत्री भएर खाता संचालन गर्न आग्रह गर्दै उहाँले सबैलाई समेटेर सहकारीलाई शेयर सदस्यको संख्या २००० पुर्‍याउन समेत आग्रह गर्नुभएको थियो। सहकारीकै नाममा नगरपालिका भित्रै ठगी गर्ने प्रवृति रहेको ,बचत संकलन गरि आर्थिक हिनामिना गर्ने र जनताको जीवनस्तर उकास्नुको सट्टा थप पीडा दिने कार्य भैरहेकोले त्यस्ता प्रवृत्तिको विरुद्ध लाग्न सबै शेयर सदस्यहरूलाई सहकारी शिक्षा तथा वित्तिय साक्षरताका कार्यक्रम संचालन गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो। नगर प्रमुख खनालले सहकारी संस्थाहरूले सहभागिताको प्रतिबद्धता जनाएमा नगरपालिका आफ्नै खर्चमा सहकारी शिक्षा प्रदान गर्न तयार रहेको बताउनुभएको थियो।

नविनतम सोच र सेवामैत्री उद्देश्यले संचालन भएको सहकारीले भीरकोटमै पहिलो पटक मोबाइल एप्स मार्फत बैंकिङ कारोबार गर्ने व्यवस्था मिलाएको छ। QR कोड बाट समेत आर्थिक कारोबार गर्न सकिने सुविधा रहेको सहकारीमा हाल प्रचलनमा रहेका मुख्य रेमिट्यान्स सेवा पनि उपलब्ध छ्न्।
आजै सम्पन्न भएको संस्थाको प्रारम्भिक साधारण सभाले सर्वसम्मतमा लक्ष्मण खत्री क्षेत्रीको अध्यक्षतामा ७ सदस्यीय संचालक समिती र सन्दिप काफ्लेको नेतृत्वमा ३ सदस्यीय लेखा समिती पनि गठन गरेको छ। नव नियुक्त अध्यक्ष खत्रीले सबैको साथ र सहयोगले मात्र संस्थाले आफ्नो लक्ष्य प्राप्त गर्ने बताउँदै सहकारीको सिद्धान्त अनुसार संस्था संचालन गर्ने बताउनुभएको थियो। सभ्य र भव्य रूपमा सम्पन्न भएको कार्यक्रमको संचालन संस्थाका सचिव कृष्ण पौडेलले गर्नुभएको थियो।