नगर अस्पतालमा दन्त चिकित्सा सेवा सुरू

कार्तिक ११, २०७८


भीरकोट खबर डेस्क, ११ कार्तिक २०७८

भीरकोट नगर अस्पताल, हेलुमा दन्त चिकित्सा सेवा पूर्ण रुपमा संचालनमा आएको अस्पताल प्रशासन प्रमुख छायादत्त रेग्मीले बताउनुभएको छ।अस्पतालको दन्त चिकित्सा विभागमा कार्यरत डा. सन्तोष पौडेल
(Nmc No. 23837)अनुसार अस्पतालमा दाँतको उपचार सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध छन्। उहाँका अनुसार दाँत सफा गर्ने, दाँत भर्ने, चाँदी भर्ने, दाँत रङ्गको सिमेन्ट भर्ने, सिसा भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने ,  दाँतको एक्सरे लगायतका दन्त उपचार सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध छ्न्।

कमजोर व्यवस्थापनका कारण बन्द रहेको अस्पताल नगरपालिका , प्रदेश सरकार र अस्पताल संचालक समितिको समन्वय र व्यवस्थापनमा संचालन भैरहेको नगर प्रमुख छायाराम खनालले बताउनुभयो ।उहाँका अनुसार जनतालाई सामान्य उपचारका लागि पनि स्याङ्जा , पाल्पा, पोखरा जानुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालमा नयाँ सेवा सुविधा र जनशक्ति थप गर्ने कार्यमा नगरले सहजीकरण गरिरहेको छ।अस्पताल विधिवत रूपमै नगर अस्पताल हुन केही प्रक्रियागत कुराहरू बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो। हाल नगर अस्पतालमा २४ घण्टा आकस्मिक सेवा,भीडियो एक्सरे तथा एक्सरे सेवा,फार्मेसी सेवा, प्रयोगशाला सेवा, इसिजी सेवा,कोरोना परिक्षण सेवा तथा बिरामी भर्ना सेवा उपलब्ध छ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा दन्त चिकित्सा परामर्श  सेवा प्राप्त गर्न रू ५० शुल्क लाग्दछ। नगर अस्पतालमा आँखा उपचार सेवा पनि थप गर्न सके आँखा सम्बन्धि सामान्य स्वास्थ्य उपचारका लागि वालिङ्,स्याङ्जा वा पोखरा जानुपर्ने बाध्यताको पनि अन्त्य हुने देखिन्छ।