प्रविधी प्रयोगमा एक कदम अगाडि भीरकोट सहकारी

असोज २८, २०७८


 

भीरकोट ,असोज २८    :  “सबैको हात एक साथ” भन्ने नाराको साथ स्थापित भएको भीरकोट सहकारीले भीरकोट नगरपालिकालाई कार्यक्षेत्र बनाई काम गरिरहेको छ। नगरपालिकामा २०७७ चैत्र २३ गते दर्ता भएको यो सहकारीले २०७८ साउन १८ गतेवाट स्याड्जाको भीरकोट-१, बयरघारी प्रगतिटोलमा कार्यालय स्थापना गरी वित्तीय सेवा संचालन गरेको थियो।सहकारीहरू पनि बैंक तथा अन्य वित्तिय संस्था जस्तै प्रविधिमैत्री भई प्रतिस्पर्धात्मक तवरले अगाडी बढन सक्छन भन्ने उदाहरण हो भीरकोट बचत तथा ऋण सहकारी संस्था। सहकारीले भीरकोटमा पहिलो पटक सहकारीलाई प्रविधिमैत्री बनाउँदै मोबाइल बैंकिङ सेवा संचालनमा ल्याएको छ। एन्ड्रोइड एप “भीरकोट” मोबाइलमा डाउनलोड गरि सदस्यहरूले आफ्नो खाता विवरण हेर्न, बैंकमा रकम ट्रान्सफर गर्न,मोबाइल रिचार्ज गर्न, ऋण तिर्न, इन्सोरेन्स प्रिमियम तिर्न, बिजुली बिल तिर्न, हवाई टिकट खरिद गर्न, आफनो कर्जा विवरण हेर्न सक्छन्। यो एप सदस्यहरुलाई एकै पटक पत्राचार गर्न, र सदस्यहरुले सल्लाह सुझाव दिन समेत प्रयोग गर्न सकिन्छ । यो सेवा प्रयोग गरि मोबाइल रिचार्ज गर्दा ३% क्यासव्याक पनि पाइन्छ। एप मार्फत नै मोबाइल वालेटहरू अन्तर्गत ई– सेवा(e-sewa) , खल्ती (Khalti) र आई एम ई पे (IME Pay) मा रकम लोड गरि मोबाइल वालेट चलाउन र वालेटमा रहेको रकम सहकारी खातामा निशुल्क ट्रान्सफर गर्न सकिने सुविधा पनि छ ।

सहकारीले भीरकोट नगरपालिकालाई क्यासलेस, चेक लेस र पेपर लेस बनाउन विभिन्न व्यावसायिक संघ संस्थाहरू सँग सहकार्य गर्दै १०० स्थानमा क्यूआर कोड प्रविधी जडान गरेको छ भने भीरकोट नगरपालिका भित्र संचालनमा रहेका अटोरिक्साहरूलाई क्यासलेस बनाउन संस्थाको क्यूआर कोड प्रविधी जडानको तयारी पुरा गरेको छ । संस्थाले क्यूआर कोड र ई– टेलर प्रविधी मार्फत रकम जम्मा गर्ने र भूक्तानी लिने व्यवस्था समेत गरेको छ । सहकारीले आई एम इ ,सिटी एक्सप्रेस, प्रभु, हिमाल, आई पे, वेस्टर्न युनियन जस्ता रेमिटान्स कम्पनी सँग सहकार्य गरी रेमिटान्स सेवा प्रदान गरिरहेको छ।

हाल संस्थामा ३५९ जना शेयर सदस्य रहेका छ्न् । १ करोड ५२ लाख चुक्ता पूँजी रहेको संस्थाले नाफालाई भन्दा सदस्य सेवालाई केन्दमा राखेर सस्तो व्याजदरमा १ करोड भन्दा बढी लगानी गरिसकेको छ। भीरकोटका युवाहरूको सक्रियतामा संचालित सहकारी भीरकोटमा संचालित अन्य सहकारीहरू भन्दा प्रविधी प्रयोगमा एक कदम अगाडि छ।