भीरकोटमा बालमैत्री दिवस मनाइने

फागुन ११, २०७८


११ फागुन २०७८

स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटमा यहि फागुन २२ गते बालमैत्री दिवस मनाइने भएको छ। बालमैत्री नगर घोषणा भएको अवसर पारेर विविध शैक्षिक कार्यक्रम र विशेष समारोहको आयोजना गरी धुमधामका साथ मनाइने योजना बनाइएको नगर शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो।

बालमैत्री दिवसको अवसर पारेर नगरपालिकाले तहगत रूपमा विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरि सामुदायिक र संस्थागत विद्यालयहरूलाई सहभागीताको लागि निर्देशन दिएको छ। शाखा प्रमुख कोइरालाका अनुसार कक्षा ९ र १० का लागि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ भने कक्षा ६-८ का लागि निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको छ।दुबै कार्यक्रम बालज्योती मा.वि बयरघारीमा फागुन १५ गते संचालन हुनेछ्न्। यसैगरी फागुन १६ गते कक्षा ४-५ को लागि अंग्रेजीमा श्रुतीलेखन र कक्षा १-३ को लागि नेपालीमा श्रुतीलेखन कार्यक्रम संचालन हुनेछ्न्। यी कार्यक्रमहरू तोकिएका पायक पर्ने विद्यालयहरूमा संचालन हुनेछ्न्।फागुन १९ गते खुला एकल नृत्य तथा गायन प्रतियोगिता समेत संचालन हुने कोइरालाले जानकारी दिनुभयो। स्मरण रहोस भीरकोट नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगरपालिका हो।नगरपालिकालाई गत वर्ष फागुन २२ गते विशेष समारोहको आयोजना गरि बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो।