भीरकोट बसपार्क: उपयोगिता र आम्दानी शून्य, वार्षिक खर्च २ लाख भन्दा बढी

चैत ११, २०७८


नारायण प्रसाद कोइराला
११ फागुन २०७८

भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारमा सवारी पार्किङलाई व्यवस्थित गर्ने उद्देश्यले तीन वर्ष अघि निर्माण गरिएको बसपार्क अझै प्रयोगमा आउन सकेको छैन्। नगरप्रमुख खनालले तामझामका साथ उद्घाटन गरेको बसपार्क निर्माणमा मात्रै ८ लाख ५८ हजार ८ सय ६३ रूपैयाँ खर्च भएको थियो।यसमा जग्गा सम्याउन नगरपालिकाले आफ्नै डोजर प्रयोग गरेको थियो जसको खर्च यसमा समावेश भएको छैन्।

१२ जना जग्गाधनीको १५ रोपनी जग्गा भाडामा लिएर निर्माण गरिएको बसपार्क सवारी साधन पार्किङको लागि भन्दा पनि मेलामहोत्सव,सार्वजनिक समारोह,खेलकुद प्रतियोगिता र फलफुल तरकारी हाटबजार संचालन गर्न प्रयोगमा ल्याइएको पाइन्छ। नगरपालिकाको डोजर, टिप्पर र अक्क्लझुक्कल १/२ वटा सवारी साधन मात्रै पार्किङ गरिने उक्त जग्गा भाडामा लिएबापत नगरपालिकाले करसहित प्रति रोपनी १७ हजार ४५ रूपैयाँका दरले वार्षिक २ लाख ६२ हजार ९ सय ३१ रूपैयाँ जग्गाधनीलाई भुक्तानी दिन्छ।

२०७५ साल भदौ १ गते देखि लागू हुनेगरी २०८५ साल असार मसान्तसम्म १० वर्षको जग्गा सम्झौता गरिएको छ।जग्गाधनीलाई प्रत्येक आर्थिक वर्षको कार्तिक मसान्तभित्र नगरपालिकाले गरिमा बिकास बैंकको खातामै रकम जम्मा गरिदिन्छ।



तीन वर्षको अवधिमा बसपार्क निर्माण र जग्गा भाडा बापत करिब २० लाख रकम खर्च भैसकेको छ। तर बसपार्क निर्माणको उद्देश्य अनुरूप उपयोगमा आउन सकेको छैन्। फितलो नगर प्रशासनका कारण बसपार्क अलपत्र अवस्थामा छ।लाखौं रूपैयाँ बर्सेनि खेर गैरहेको छ। नगरपालिका र जग्गाधनीबीच भएको सम्झौता अनुसार नगरपालिकाले ६ महिना अगाडि सूचना दिएर जग्गा भाडा सम्झौता भंग गर्न सक्ने व्यवस्था छ। नगरपालिकाले न त बसपार्क प्रयोगमा ल्याउन सकेको छ नत जग्गा भाडा सम्झौता रद्द गर्न नै सकेको छ। सिद्धार्थ राजमार्ग र सहायक मार्गमा अव्यवस्थित रूपमा सवारी साधन पार्किङ हुने क्रम जारी छ । नगर प्रशासन, नगर प्रहरी र ट्राफिक प्रहरीको निष्क्रियता एवं भीरकोट उद्योग वाणिज्य संघ र सवारी धनीको वेवास्ताका कारण सिद्धार्थ राजमार्गमा दुर्घटनाको जोखिम बढ्दै गैरहेको छ। तर यस विषयमा सरोकारवाला निकायहरू मौन छ्न्।

किन प्रयोगमा आउन सकेन बसपार्क ? :
यातायात व्यवसायी एवं चालकहरूले बसपार्क निर्माण उपयुक्त ठाउँमा नगरिएको र रातीको समयमा पार्किङ गर्न सुरक्षा लगायतका अन्य सुविधाहरू नरहेको गुनासो गर्नुहुन्छ। “हाम्रो बसपार्कमा न यात्रुहरूको चहलपहल हुन्छ, न त सुरक्षा नै छ,बसपार्क उपयुक्त ठाउँमा बनाउनुपर्थ्यो, ” एक जना चालकले नाम नबताउने सर्तमा भन्नुभयो।

भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालालाई बसपार्कलाई असफल हुनुमा व्यवसायीको भन्दा पनि नगर प्रशासन र प्रहरी प्रशासनको कमजोरी देख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “नगर प्रशासन र ट्राफिक प्रहरीको निष्कृयता नै असफल हुनुको प्रमुख कारण हो। हाम्रो काम सहजीकरण गर्ने मात्रै हो, कानून एवं नीति नियम कार्यान्वयन गर्ने काम चाहिँ स्थानीय सरकार र प्रहरीको हो।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसाल बसपार्क असफल हुनुमा नगर प्रशासनको मात्र नभइ सरोकारवाला सबैको कमजोरी भएको बताउनुहुन्छ। जनता, जनप्रतिनिधि, ट्राफिक प्रहरी र व्यवसायीहरूको सहयोग र इच्छाशक्ति नहुँदा बसपार्क अलपत्र परेको उहाँको धारणा छ। उहाँले स्रोत र साधनको सदुपयोग हुन नसकेकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।

नगर प्रवक्ता दिपेन्द्र के.सी.ले बसपार्क बयरघारी बजारको आवश्यकता हो भनेर बनाइएको भएपनि प्रयोगमा ल्याउन नसक्नुलाई स्थानीय सरकारको असफलताको रूपमा स्वीकार गर्नुहुन्छ। जिल्ला ट्राफिक कार्यालय, स्थानीय प्रहरी र व्यवसायीहरू सबैलाई बसपार्क प्रयोगमा सहयोग गर्न आग्रह र समन्वय गरेपनि उपयुक्त तालमेल नहुँदा प्रयोगमा आउन नसकेको उहाँको बुझाइ छ। उहाँले आम्दानी र उपयोगिता शून्य भएपछि सरोकारवालासँग छ्लफल गरि अन्य विकल्प खोजिने बताउनुभयो।

विकल्प:
स्रोत र साधनको दुरुपयोग हुनु किमार्थ राम्रो होइन्। तीन वर्ष सम्म प्रयोगमा आउन नसकेको बसपार्क अब प्रयोगमा आइहाल्छ भन्नेमा विश्वस्त हुने कुनै आधार छैन्। यदि यहि बसपार्कलाई प्रयोगमा ल्याउने हो भने स्थानीय सरकारले सरोकारवालासँग समन्वय गरि सडक अनुशासन कायम गर्न र आवश्यक कार्बाही गर्न पहलकदमी लिनुपर्छ। यदी ठाउँ नै उपयुक्त होइन भने उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गरि नयाँ व्यवस्थित र प्रयोगयोग्य बसपार्क निर्माण गर्नुपर्छ। यदि तत्काल केही गर्न सक्ने अवस्था छैन भने जनताको रगत र पसिनाबाट आर्जित स्रोत र साधनलाई खेर जान दिनुहुँदैन। खेर गएको तीन वर्ष भैसक्यो। अब नगरपालिकाले जग्गा सम्झौता रद्द गर्नुपर्छ। आवश्यकता देख्ने तर औचित्य पुष्टि गर्न नसक्नु जनप्रतिनिधि र कर्मचारीहरूको ठूलो कमजोरी हो।