भीरकोट प्रज्ञा प्रतिष्ठान गठनको तयारी

असोज २१, २०७८


आश्विन २१, भीरकाेट खबर डेस्क,

भीरकोट नगरपालिका क्षेत्र भित्रका सबै भाषा, संस्कृति, इतिहास, कलाको संरक्षण गर्दै लोक, साहित्य, बाल साहित्य लगायतका प्राज्ञिक क्षेत्रको दिगो एवं व्यवस्थित विकास गर्ने अभिप्रायले भीरकोट प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिएको छ। यही असोज २३ गते एक बृहत अन्तरक्रिया कार्यक्रम गरी प्रज्ञा प्रतिष्ठान गठन गर्ने योजना बनेको नगरपालिका स्रोतले बताएको छ । नगरपालिका भित्रका विद्वान, बुद्धिजीवी, नागरिक अगुवा, सामजिक राजनीतिक संघसंस्थाका प्रमुख/प्रतिनिधि लगायतका सामाजिक बौद्धिक व्यक्तित्वहरूलाई सहभागी गराई व्यापक अन्तरक्रिया गरी सर्वसम्मत तरीकाले कुलपती, उपकुलपति लगायतका प्रज्ञा प्रतिष्ठानका पदाधिकारी छनोट गर्ने योजना बनेको भीरकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो।

भीरकोटको प्राज्ञिक र साहित्यिक प्रतिभाहरूको कदर, सम्मान र विकास गर्ने उद्देश्यले गठन हुने प्रतिष्ठानले बालमैत्री नगरपालिकाका बालबालिकाको साहित्य विकास र मौलिकताको सम्मानको लागि बालसाहित्य प्रतियोगिता समेत गर्ने बताइएको छ। नगरपालिकाले प्रकाशन गरेको “हाम्रो भीरकोट” नामक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक सम्पादन र प्रकाशनको समेत जिम्मेवारी दिइने यो संस्थाले भीरकोटमा वार्षिक साहित्य सम्मेलन, नगर भित्रका लोपोन्मुख धर्म संस्कृति, लिपि, भाषाको संरक्षण, भीरकोट प्रज्ञा पुस्तकालय स्थापना, साहित्यिक प्रवचन, गोष्ठी, प्रदर्शनी, राष्ट्रिय र स्थानीय स्रष्टाहरूको सम्मान, कविता महोत्सव, नगर सांस्कृतिक सम्मेलन, डिजिटल सांकृतिक संग्रहालय स्थापना आदि जस्ता बृहत जिम्मेवारी बहन गर्नेछ। यो संस्थाको प्रमुख संरक्षक नगर प्रमुख, संरक्षक नगर उपप्रमुख र पदेन सचिव नगर शिक्षा शाखा प्रमुख रहने व्यवस्था गरिएको छ। प्रस्तावित भीरकोट प्रज्ञा प्रतिष्ठान कार्यविधी अनुसार प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, साहित्य विभाग संयोजक, कला संस्कृति विभाग संयोजक, सामजिक अध्ययन विभाग संयोजक, इतिहास विभाग संयोजक अनुसन्धान विभाग संयोजक, प्रकाशन विभाग संयोजक, खेलकुद विभाग संयोजक, बाल साहित्य विभाग संयोजक लगायतका प्रमुख पदहरू रहने छ्न्। भीरकोट नगरपालिका भित्र क्रियाशील भाषा, साहित्य, कला, संस्कृति, इतिहास, मानवशास्त्र, समाजशास्त्र, खेलकुद, बालसाहित्य आदि क्षेत्रमा कार्य गरिरहेका प्राज्ञिक र बौद्धिक प्रतिभालाई समेटेर गठन गरिने प्रतिष्ठान ५० सदस्यीय हुनेछ।

कस्तो व्यक्ती बन्नुपर्छ त कुलपति ?

प्रज्ञा प्रतिष्ठान गठन र कुलपति लगायतका पदाधिकारी कस्तो हुनुपर्छ भन्ने विषयमा भीरकोट खबर डट कमले भीरकोटका केही प्राज्ञिक, साहित्यिक एवं राजनीतिक व्यक्तित्वहरूसँग कुराकानी समेत गरेको छ।

नेपाली काङ्ग्रेसका निवर्तमान नगर सभापति एवं समाजसेवी तोयनाथ अर्यालका विचारमा प्रज्ञा प्रतिष्ठानमा भीरकोटका धर्म, भाषा, संस्कृतिको बारेमा राम्रो ज्ञान भएको विद्वान व्यक्तिहरूलाई सहभागी गराइनुपर्छ। सकेसम्म राजनीतिक व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानमा स्थान दिइनु हुँदैन। मार्कसिट सर्टिफिकेटलाई मात्र नहेरी व्यक्तिको आचरण, ज्ञान र अनुभवलाई समेत हेरेर नेतृत्व छनौट गर्नुपर्ने उहाँको सुझाब छ।



नेकपा एमालेका नगर कमिटी अध्यक्ष विश्वनाथ अर्यालका अनुसार समग्र भीरकोट बुझेका,दलिय स्वार्थ र पूर्वाग्रह भन्दा बाहिर रहने स्वतन्त्र बौद्धिक व्यक्तित्वहरूलाई प्रज्ञा प्रतिष्ठानमा स्थान दिइनुपर्छ ।प्रतिष्ठानको उद्देश्य अनुसार कार्य गर्दै स्थानीय सरकार संचालनमा पनि रचनात्मक सहयोग गर्न सक्ने प्राज्ञिक व्यक्तित्वलाई प्रज्ञा प्रतिष्ठानको नेतृत्व दिनुपर्ने उहाँको विचार छ। नेकपा माओवादी नगर कमिटी अध्यक्ष मीन प्रसाद कोइरालाको विचार पनि अर्यालसँग मिल्दोजुल्दो छ। उहाँ पनि राजनीतिक आग्रह पूर्वाग्रह नराखी काम गर्न सक्ने बौद्धिक एवं प्राज्ञिक व्यक्तिलाई स्थान दिई पारदर्शी एवं सर्वसम्मत तरिकाले प्रतिष्ठानको गठन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

भाग्योदय माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रेशम प्रसाद रेग्मीका अनुसार समग्र भीरकोटको भाषा, धर्म ,संस्कृति ,इतिहास बुझेको विद्वान एवं आदरणीय व्यक्तित्वलाई प्रतिष्ठानको नेतृत्व दिइनुपर्छ। पद मात्रै ओगट्ने भन्दा पनि संस्थाको उद्देश्य अनुसार सक्रिय भएर काम गर्न सक्ने व्यक्तिलाई स्थान दिइनुपर्ने उहाँको विचार छ।

भीरकोटका प्राज्ञिक व्यक्तित्व एवं भद्रकाली बहुमुखी क्याम्पस, पोखराका प्राचार्य नबराज रेग्मीको विचारमा समग्र भीरकोट बुझेको छ, भीरकोटको आँखाबाट देशलाई बुझेको छ, त्यस्तो व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानमा स्थान दिइनुपर्छ। भाषा, धर्म, सांस्कृतिक विविधताको ज्ञाता, भीरकोटको ईतिहास समेत लेख्न सक्ने दक्षता राख्ने व्यक्तिहरूलाई प्रज्ञा प्रतिष्ठानमा समेट्दा संस्थाको गरिमा उच्च हुन्छ । मौलिक विचार, उदार मानवतावादी चिन्तन भएको कुनै पनि राजनीतिक दलमा सक्रिय भएर नलागेको, संस्थाले र समग्र भीरकोटले गौरव गर्न सक्ने शुद्ध चरित्र भएको प्राज्ञिक व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको नेतृत्व दिनुपर्ने उहाँको राय छ। प्रज्ञा प्रतिष्ठान भीरकोटको गौरवशाली संस्था हुनुपर्नेमा जोड दिदै उहाँले त्यसो हुन नसके प्रतिष्ठान नेपाली काङ्ग्रेसकै भातृसंगठन बन्न सक्ने खतरा समेत औल्याउनुभएको छ।

भीरकोटमा रहेर राष्ट्रिय स्तरको पत्रकारीता समेत गर्दै आउनुभएका प्रखर वक्ता एवं वालिङबाट प्रकाशित हुने पव्लिक आवाज साप्ताहिकका सम्पादक अमृत अर्यालले प्रज्ञा प्रतिष्ठान गठन नगरको रचनात्मक र सकारात्मक प्रयास भएको भन्दै मुख्य जिम्मेवारी बहन गर्नुपर्ने पदमा विद्यावारिधी गरेको विषय विज्ञलाई स्थान दिइनुपर्ने मत राख्नुहुन्छ।प्राज्ञिक संस्था गठन गर्दा राजनीतिक गन्ध आयो भने संस्था गठनको लक्ष्य प्राप्ति हुन नसक्ने उहाँको ठम्याइ छ। स्थायी रूपमै भीरकोटमा बसोबास गर्ने प्रतिभावान प्राज्ञिक व्यक्तिलाई नेतृत्व दिनुपर्ने उहाँको विचार छ।

भीरकोटका यी केही प्रतिनिधिमूलक विचारहरूको समीक्षा गर्दा प्रज्ञा प्रतिष्ठान समग्र भीरकोटको प्राज्ञिक, साहित्यिक, सामाजिक, सांस्कृतिक क्षेत्र र खेलकुदको समेत व्यवस्थित र दीगो विकास गर्ने गरिमामय संस्था हुने भएकाले कुलपति अर्थात यसको अध्यक्ष संस्थाको कार्यक्षेत्रका विषयमा विद्यावारिधि गरेको हुनुपर्छ । कुनै पनि राजनीतिक दलको झण्डा नबोक्ने प्राज्ञिक व्यक्तिहरूसँग राम्रो समन्वय भएको, विज्ञापन भन्दा बढी काम गर्ने खालको, शुद्ध चरित्र भएको, बौद्धिक चोरी नगर्ने आदरणीय व्यक्ति हुनुपर्छ।अध्ययन अनुसन्धानमा रुचि राख्ने, लेख रचनाहरू नियमित प्रकाशन गर्ने, चरित्रवान, बौद्धिक र आदरणीय व्यक्तिहरूलाई प्रतिष्ठानमा सहभागी गराइनुपर्छ । राजनीतिक व्यक्तित्वहरूलाई नेतृत्वको अवसर दिइएको खण्डमा प्रतिष्ठान प्राज्ञिक भन्दा पनि राजनीतिक संस्था हुने स्पष्ट छ।