किन गठन हुन सकेन भीरकोट प्रज्ञा प्रतिष्ठान ?

फागुन १६, २०७८


१६ फागुन २०७८



भीरकोट नगरपालिका क्षेत्र भित्रका सबै भाषा, संस्कृति, इतिहास, कलाको संरक्षण गर्दै लोक, साहित्य, बाल साहित्य लगायतका प्राज्ञिक क्षेत्रको दिगो एवं व्यवस्थित विकास गर्ने अभिप्रायले भीरकोट प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिएको लगभग ६ महिना बितेको छ।प्रज्ञा प्रतिष्ठान गठनका लागि आवश्यक ऐन, नियम र कार्यविधी नबन्दा ढिलाई भएको जानकारी नगरपालिका स्रोतले बतायो।नगरलाई आर्थिक बोझ नपर्ने गरि एउटा स्वतन्त्र प्राज्ञिक संस्थाको रूपमा प्रज्ञा प्रतिष्ठान गठन गर्न लागिएको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो।यहि फागुन महिना भित्र आवश्यक सबै प्रक्रिया पूरा गरि प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिएको छ।आवश्यक ऐन, नियम र कार्यविधी निर्माणका लागि प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, नगर प्रवक्ता दिपेन्द के.सी र वडा नं ४ का अध्यक्ष चन्द्र बहादुर बस्नेतको तीन सदस्यीय कार्यसमिति गठन गरिएको नगरपालिकाले जनाएको छ।



कस्तो व्यक्ती हुनुपर्छ त कुलपती /सदस्य?

प्रज्ञा प्रतिष्ठान गठन र कुलपति लगायतका पदाधिकारी कस्तो हुनुपर्छ भन्ने विषयमा स्मार्ट अखबार खबर डट कमले भीरकोटका केही प्राज्ञिक, साहित्यिक एवं राजनीतिक व्यक्तित्वहरूसँग कुराकानी समेत गरेको थियो।

नेपाली काङ्ग्रेसका निवर्तमान नगर सभापति एवं समाजसेवी तोयनाथ अर्यालका विचारमा प्रज्ञा प्रतिष्ठानमा भीरकोटका धर्म, भाषा, संस्कृतिको बारेमा राम्रो ज्ञान भएको विद्वान व्यक्तिहरूलाई सहभागी गराइनुपर्छ। सकेसम्म राजनीतिक व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानमा स्थान दिइनु हुँदैन। मार्कसिट सर्टिफिकेटलाई मात्र नहेरी व्यक्तिको आचरण, ज्ञान र अनुभवलाई समेत हेरेर नेतृत्व छनौट गर्नुपर्ने उहाँको सुझाब छ।

नेकपा एमालेका नगर कमिटी अध्यक्ष विश्वनाथ अर्यालका अनुसार समग्र भीरकोट बुझेका,दलिय स्वार्थ र पूर्वाग्रह भन्दा बाहिर रहने स्वतन्त्र बौद्धिक व्यक्तित्वहरूलाई प्रज्ञा प्रतिष्ठानमा स्थान दिइनुपर्छ ।प्रतिष्ठानको उद्देश्य अनुसार कार्य गर्दै स्थानीय सरकार संचालनमा पनि रचनात्मक सहयोग गर्न सक्ने प्राज्ञिक व्यक्तित्वलाई प्रज्ञा प्रतिष्ठानको नेतृत्व दिनुपर्ने उहाँको विचार छ। नेकपा माओवादी नगर कमिटी अध्यक्ष मीन प्रसाद कोइरालाको विचार पनि अर्यालसँग मिल्दोजुल्दो छ। उहाँ पनि राजनीतिक आग्रह पूर्वाग्रह नराखी काम गर्न सक्ने बौद्धिक एवं प्राज्ञिक व्यक्तिलाई स्थान दिई पारदर्शी एवं सर्वसम्मत तरिकाले प्रतिष्ठानको गठन गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

भाग्योदय माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रेशम प्रसाद रेग्मीका अनुसार समग्र भीरकोटको भाषा, धर्म ,संस्कृति ,इतिहास बुझेको विद्वान एवं आदरणीय व्यक्तित्वलाई प्रतिष्ठानको नेतृत्व दिइनुपर्छ। पद मात्रै ओगट्ने भन्दा पनि संस्थाको उद्देश्य अनुसार सक्रिय भएर काम गर्न सक्ने व्यक्तिलाई स्थान दिइनुपर्ने उहाँको विचार छ।

भीरकोटका प्राज्ञिक व्यक्तित्व एवं भद्रकाली बहुमुखी क्याम्पस, पोखराका प्राचार्य नबराज रेग्मीको विचारमा समग्र भीरकोट बुझेको छ, भीरकोटको आँखाबाट देशलाई बुझेको छ, त्यस्तो व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानमा स्थान दिइनुपर्छ। भाषा, धर्म, सांस्कृतिक विविधताको ज्ञाता, भीरकोटको ईतिहास समेत लेख्न सक्ने दक्षता राख्ने व्यक्तिहरूलाई प्रज्ञा प्रतिष्ठानमा समेट्दा संस्थाको गरिमा उच्च हुन्छ । मौलिक विचार, उदार मानवतावादी चिन्तन भएको कुनै पनि राजनीतिक दलमा सक्रिय भएर नलागेको, संस्थाले र समग्र भीरकोटले गौरव गर्न सक्ने शुद्ध चरित्र भएको प्राज्ञिक व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको नेतृत्व दिनुपर्ने उहाँको राय छ। प्रज्ञा प्रतिष्ठान भीरकोटको गौरवशाली संस्था हुनुपर्नेमा जोड दिदै उहाँले त्यसो हुन नसके प्रतिष्ठान नेपाली काङ्ग्रेसकै भातृसंगठन बन्न सक्ने खतरा समेत औल्याउनुभएको छ।