जिल्ला स्तरीय ब्याडमिन्टन खेलको नतिजा आयोजककै पोल्टामा
आश्विन ३,भीरकोट खबर डेस्क,
“स्वास्थ्यका लागी खेल, राष्टका लागि खेल” नारालाई मूल मन्त्र बनाई स्थापना गरिएको बयरघारी ब्याडमिन्टन क्लबको आयोजनामा संचालित जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा A क्याटागोरी तर्फ बयरघारी ब्याडमिन्टन क्लबका निकेश सेन र सुशील खाँडको टिम प्रथम भएको छ।यसैगरी गल्याङ ब्याडमिन्टन क्लबका मान बहादुर थापा र समीर थापाको टिमले द्वितीय स्थान प्राप्त गरेको छ भने वालिङ ब्याडमिन्टन क्लबका दिनेश अर्याल र जीतेन गुरूङको टिम तृतीय हुन सफल भएको छ। प्रतियोगितामा जिल्ला भरीका ८४ टिम सहभागी भएका थिए। यसैगरी C क्याटागोरी तर्फ बयरघारी ब्याडमिन्टन क्लबका युवराज गुरूङ र प्रकाश गुरूङको टिम प्रथम, बोधिभञ्ज्याङ ब्याडमिन्टन क्लबका गोविन्द थापा र सुजल गैह्रेको टिम द्वितीय, सातधारा ब्याडमिन्टन क्लबका सञ्जय श्रेष्ठ र दिनेश राना मगरको टिम तृतीय भएका छ्न्।A क्याटागोरी तर्फ दिनेश अर्यालले अनुशासीत खेलाडी ,समीर थापा इमर्जिङ खेलाडी र निकेश सेन सर्वोत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत भएका छन्।यसैगरी C क्याटागोरी तर्फ सुदिप थापाले अनुशासित खेलाडी ,सुजल गैह्रेले इमर्जिङ खेलाडी र प्रकाश गुरूङले सर्वोत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेका छ्न्।खेल संचालनमा सहजीकरण गरि सफलतापूर्वक सम्पन्न गर्न रेफ्रीको उत्कृट भूमिका निर्वाह गर्नुभएकोमा क्याटागोरी C तर्फ बाट राम बहादुर बस्याल र A बाट जितेन गुरूङ पुरस्कृत हुनुभएको छ।
भीरकोट नगर प्रमुख छायाराम खनाल र स्याङ्जा काठमाडौं सम्पर्क समितिका अध्यक्ष देवी प्रसाद अर्याल आतिथ्यता पुरस्कार वितरण समारोह गरिएको हो।A र C दुबै क्याटागोरीका विजेताहरूले एउटै राशीको नगद पुरस्कार ,ट्रफी र मेडल प्राप्त गरेका छ्न्।प्रथम,द्वितीय र तृतीय भएका टीमहरूले क्रमश: रू. पच्चीस हजार, पन्ध्र हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छ्न्।भीरकोट नगरपालिका मुख्य प्रायोजक रहेको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन राष्ट्रिय खेलकद परिषदका उपाध्यक्ष शिव कोइरालाले र द्वितीय पुरस्कारको प्रायोजन भीरकोट वडा नं ८ हाल UAE निवासी प्रेम न्यौपानेले गर्नुभएको थियो।आयोजक क्लबका अध्यक्ष ढाकाराम खनालका अनुसार यो ब्याडमिन्टन प्रतियोगिता जिल्ला स्तरीय रूपमा अहिले सम्मकै अधिकतम सहभागीता रहेको प्रतियोगिता बनेको छ। ७ दर्जन टिम सहभागी भएको खेल क्लबको उच्च व्यवस्थापकीय क्षमताका कारण सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।क्लबका अध्यक्ष खनालले खेल सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने खेलाडी, खेलप्रेमी व्यक्तित्व, आर्थिक सहयोगी लगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।ब्याडमिन्टन खेल युवाहरू माझ लोकप्रिय बन्दै गएको हुँदा प्रतियोगिताहरूलाई थप व्यवस्थित बनाउन नगरपालिकाले कभर्ड हल निर्माणलाई पहिलो प्राथमिकता दिनुपर्ने देखिएको छ।