अन्तर विद्यालय वक्तृत्वकलामा बालोदय मा.वि प्रथम

जेठ २८, २०७९


स्मार्ट अखबार संवाददाता, स्याङ्जा
२८ जेठ २०७९

जिल्ला बाल क्लब,स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिकामा संचालन गरिएको वक्तृत्वकला प्रतियोगितामा बालोदय मा.वि. का विद्यार्थी प्राञ्जल तिवारी प्रथम हुनुभएको छ।यसैगरी दभुङ ठाँटी मा. वि. का. भूमिका काफ्लेले द्वितीय स्थान प्राप्त गर्नुभयो भने महेन्द्रज्योती मा.वि.का दिपिका थापाले तृतीय स्थान हासिल गर्नुभयो। सामाजिक विकास कार्यालय , स्याङ्जाको सहयोग र भीरकोट नगरपालिकाको समन्वयमा संचालन गरिएको कार्यक्रममा १३ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनुभएका विद्यार्थीहरूले क्रमश: पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ। प्रतियोगितामा दहथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नेत्रनारायण रेग्मी,नगर शिक्षा शाखाका निमित्त प्रमुख नवीन थापा र सामाजिक विकास कार्यालयका प्रमुख इश्वरी प्रसाद रेग्मीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

भीरकोट नगरपालिकाकका नगर प्रवक्ता दिपेन्द्र के.सी. को प्रमुख आतिथ्यतामा , जिल्ला बाल क्लब स्याङ्जाका अध्यक्ष स्वस्तिका पाण्डेको अध्यक्षता सम्पन्न भएको थियो।प्रमुख अतिथी के.सी. बालबालिकाले मात्रै नभएर समाजका हरेक सदस्यहरूले आफ्नो अधिकार कर्तव्यबोध गर्न सकेमा मात्र समाज र राष्ट्रमा अपेक्षित प्रगती हुने बताउनुभयो।साथै उहाँले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमश: एक हजार पाँच सय,एक हजार र पाँच सय रूपैयाँ व्यक्तिगत पुरस्कार समेत प्रदान गर्नुभएको थियो। कार्यक्रममा पब्लिक एकेडेमीका प्रधानाध्यापक देवकी रेग्मी, नेपाली काँग्रेस भीरकोटका उपसभापति विष्णुमाया काफ्ले, वडा नं ८ का वडा अध्यक्ष नन्दलाल खनाल, दहथुम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नेत्रनारायण रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रममा उपस्थिति महानुभावहरूलाई भीरकोट बाल संञ्जालका अध्यक्ष एवं जिल्ला बाल संजालका सदस्य सुदिप पौडेलले स्वागत गर्नुभएको थियो।