भीरकोटका ९ वटै वडा बालमैत्री घोषित

फागुन २१, २०७७


भीरकोट खबर डेस्क, फागुन २०



बालमैत्री घोषणा पूर्वतयारीमा रहेको भीरकोट नगरपालिकाले पूर्व सन्ध्यामा पत्रकार सम्मेलन गरेको छ । आज भीरकोट नगरपालिकाको सभा हलमा बालमैत्री नगर घोषणा समारोह पूर्व पत्रकार सम्मेलन गरेको हो ।



कार्यक्रममा नगरप्रमुख छायाराम खनालले आर्थिक वर्ष २०७५/०७६ मा शुरु गरी गत चैत्रमा घोषणा गर्ने प्रक्रियामा रहेपनि कोभिडका कारण घोषणा कार्यक्रम प्रभावित बनेकाले यही फागुन २२ गते नगर घोषणा कार्यक्रम रहेको नगरप्रमुख छायाराम खनालले बताउनुभयो । प्रमुख खनालले जन्मेदेखी नै बालबालिका स्वस्थ्य हुनुपर्छ भन्ने हेतुले अण्डा वितरण, पूर्ण खोप सुनिश्चितता कार्यक्रम संचालन गरेको बताउनुभयो ।

भीरकोट नगरपालिका सिकाईको चरणमा रहेको भन्दै आरम्भ मात्र रहेको बताउनुभयो । उहाँले हरेक विद्यालय तथा टोलहरुमा बाल समूह गठन गरी नगर स्तरीय बाल संजाल गठन गरेको बताउनुभयो । प्रत्येक शुक्रबार नगरका विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप गरिएको र सूचनाको स्रोत नै विद्यार्थी भएको बताउनुभयो ।

बालमैत्री घोषणाका लागी आवश्यक ३९ सूचकहरु पुरा गरी भीरकोटलाई घोषणा गर्ने तयारीमा रहेको प्रमुख खनालले बताउनुभयो । प्रमुख खनालले भन्नुभयो, “हामीले गतवर्ष नै घोषणा गर्ने तयारीमा रहेका थियौँ तर कोभिडले संभव भएन । देशभरका ७५३ स्थानीय तहमध्ये भीरकोट घोषणा सातौँ हुनेछ । अव घरदेखि टोल, विद्यालय संघसंस्था सबै बालमैत्री भएका छन् ।”

कार्यक्रममा बालमैत्री राष्ट्रिय सहजकर्ता बिष्णुप्रसाद चर्तुबेदीले बालमैत्री स्थानीय शासन राष्ट्रिय अवधारणा रहेको बताउँदै बाल अधिकार सुनिश्चितता गरी दिगोपना महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । बालमैत्री स्थानीय शासन पंचबर्षिय रणनिति कार्यक्रमको खाका समेत नगरपालिकाले तयार पारिसकेको भन्दै हरेक पालिका बालमैत्री स्थानिय शासन हुनुपर्ने बताउनुभयो ।

भीरकोट गण्डकी प्रदेशकै दोस्रो बालमैत्रि नगरको रुपमा रहनेछ । साथै यही फाल्गुन २२ गते शनिबारका दिन गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले विशेष समारोहका बिच घोषणा गर्नुहुनेछ । कार्यक्रम नगरप्रमुख छायाराम खनालको अध्यक्षतामा स्वागत नगर प्रवक्ता दिपेन्द्र केसीले गर्नुभएको थियो भने संचालन पत्रकार एसीव शरण महतले गर्नुभएकाे थियो ।