बाढी नियन्त्रणका लागि उत्खनन: प्रमुख प्रशासकीय अधिकृत भुसाल

कार्तिक १५, २०७८


कार्तिक १५, भीरकोट

भीरकोट नगरपालिकाले आँधिखोला एकुवारको पक्की पुल नजिकै डोजर र टिप्पर प्रयोग गरि उत्खनन गरेको दृश्य देखेर धेरै जनाले पक्की पुलमा असर पर्ने सक्ने कुरा गरिरहेका बेला नगरपालिकाले यस विषयमा स्पष्टीकरण दिएको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले आँधिखोला एकुवार तर्फबाट मात्रै एकतर्फी रुपमा बग्दा यो वर्षको बाढीले बढी क्षती पुर्याएको बताउँदै नदीको फैलावट मिलाउन उत्खनन गरिएको स्पष्ट पार्नुभएको छ।उहाँका अनुसार नदीको सतह नगहिरिने नदीको फैलावट व्यवस्थित गर्ने प्रयास गरिएको र उत्खनन गरिएको निर्माण सामाग्री प्रशोधन केन्द्रमा लागि प्रशोधन गरिएको छ।

“पक्की पुललाई असर गर्दैन र?” भन्ने हाम्रो जिज्ञासामा उहाँले नगरपालिका स्वयं नियामक निकाय भएको हुँदा यस बारे नगर प्रशासन एकदमै सचेत रहेको बताउनुभयो।वातावरणीय प्रभाव मूल्यांकन र प्रकोप नियन्त्रणका मापदण्ड पालना गर्दै नदीको सतह यथावत रहने तरिकाले उत्खनन गरिएकाले पक्की पुलमा क्षती नपुग्ने बताउनुभयो।वास्तविकता नबुझी अनावश्यक टिप्पणी नगर्न उहाँले सबैलाई अनुरोध समेत गर्नुभएको छ।

भीरकोट खबर डट कमको टिमले स्थलगत निरीक्षण गर्दा पनि नदीको गहिराइ र सतह नबिग्रने गरि उत्खनन गरिएको पाइएको छ। अहिलेको वर्षायाममा आँधिखोला एकतर्फी रूपमा बग्दा एकुवार तर्फको बाँध र तटबन्ध भत्किएको थियो।जसका कारण धानबाली नष्ट हुनुका साथै खेतीयोग्य उर्वरभूमी बगरमा परिणत भएको थियो।तत्पश्चात नगरपालिकाले एकुवार तर्फ करिब १०० थान जाली तत्काल लगाउँदै बाढी नियन्त्रण गरेको थियो।