अर्जुनचौपारीमा शिक्षा र रोजगारीलाई प्राथमिकता

असार २६, २०७९


स्मार्ट अखबार संवाददाता,
२४ असार २०७९

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पालिकाको सामाजिक र आर्थिक विकासको निम्ति शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेको छ। पालिकाका नवनिर्वाचित अध्यक्ष प्रकाश तिवारीले विद्यार्थीहरूको उच्च शिक्षा प्राप्तिको चाहनालाई सहज र सर्वसुलभ बनाउन राजधानीका एक दर्जन भन्दा बढी प्रतिष्ठित कलेजहरूसँग समझदारी गर्न लागिएको बताउनुभएको छ।

समझदारी पश्चात् पालिकाको सिफारिसमा विद्यार्थीहरूको व्यक्तिगत र आर्थिक क्षमता अनुसार सर्वसुलभ र गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने उहाँको भनाई छ।पालिका अध्यक्ष तिवारीका अनुसार SS College , Canvas International College , Capital Hill College ,Herald College , Kanjirowa National लगायतका एक दर्जनभन्दा बढी कलेजसँग समझदारी गर्ने तयारी गरिएको छ। यसैगरी रोजगारीको सबैभन्दा भरपर्दो र प्रतिष्ठित स्रोत लोकसेवा आयोग परीक्षा पास गरि सरकारी जागिर गर्नु रहेको कुरालाई मध्यनजर गर्दै पालिकाले काठमाडौको बागबजारमा रहेको नाइस लोकसेवा काठमाण्डौंसँग समझदारी गरेको छ ।



अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र नाइस लोकसेवाका प्रबन्ध निर्देशकले हस्ताक्षर गरेको समझदारी पत्रमा नाइस लोकसेवा एवं अर्जुनचौपारी गाउँपालिका बीच मित्रवत भ्रातृभावको सम्बन्ध स्थापित हुने कुरा उल्लेख गरिएको छ । समझदारी पत्र अनुसार पालिकाको सिफारिस अनुसार सो पालिकाबाट नाइस लोकसेवामा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई जेहेन्दार र एवम् विपन्न छात्रवृत्ति प्रदान गरिनेछ ।

नाइस लोकसेवा अध्ययनार्थ विद्यार्थीहरु आऊन् भनी प्रेरित गर्न अर्जुन चौपारी गाउँपालिकाले आवश्यकीय सरसहयोग र प्रचार-प्रसारमा मद्दत पुराउने प्रतिबद्धता समझदारीपत्रमा व्यक्त गरिएको छ । नाइस लोकसेवाले अर्जुनचौपारी गाउँपालिकाभित्रका विद्यालयका शिक्षक एवं विद्यार्थीहरुको तालिम, अध्ययन एवं शैक्षणिक अवसरहरुमा यथासक्य सहयोग उपलब्ध गराउने तथा पारस्परिक मद्दतका हरेक क्षेत्रमा नाइस लोकसेवा एवं अर्जुन चौपारी गाउँपालिका हातेमालोको सम्बन्ध रहने कुरा सम्झौतामा उल्लेख गरिएको अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारीले बताउनुभयो ।

तिवारीले भन्नुभयो, ‘हामीकहाँ रोजगारीको भरपर्दो स्रोत लोकसेवा आयोग हो ।तर पालिकाबाट लोकसेवा पास गरेर सरकारी जागिर खानेको संख्या नगण्री छ। यसमा हाम्रा विद्यार्थीलाई प्रवेश गराउन सहज होस् भन्ने उददेश्यले सम्झौता गरिएको हो । यसबाट गरिब विद्यार्थीका लागि लोकसेवा प्रवेश गर्न समेत सहज हुने विश्वास लिएका छौं ।

अध्यक्ष तिवारीका अनुसार पालिकाको सिफारिसमा केही विद्यार्थीहरूले आफ्नै गाउँघरबाटै नाइस लोकसेवाको अनलाइन कक्षामा सहभागी भैरहेका छ्न्। उहाँले नाइस लोकसेवाले संचालन गरेका लोकसेवा सम्बन्धि अनलाइन वा भौतिक कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरूले पालिकामा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ।