अनुदानको आलुको बीउ अबको एक हप्तामा आइपुग्ने
कार्तिक २२, भीरकोट
भीरकोट नगरपालिकाले कृषकहरूलाई ५० प्रतिशत अनुदानमा वितरण गर्ने आलुको बीउ आउन अझै एक हप्ता लाग्ने भएको छ।भीरकोट नगरपालिकाका कृषि विज्ञ द्रोणराज काफ्लेका अनुसार कृषकहरूले वडा कार्यालय मार्फत करिब ४७ टन आलुको बीउ माग गरेका छ्न्।कृषि विज्ञ काफ्लेका अनुसार कार्यालले अनुदानका निम्ति छुट्याएको स्रोत र साधनलाई मध्यनजर गरेर केही प्रतिशत कटौती गरेर करिब ३६ टन आलु खरिदको प्रक्रियामा रहेको छ ।
“बीउको गुणस्तर कस्तो हुन्छ?” भन्ने हाम्रो जिज्ञासामा गत वर्ष किसानहरूले उठाएको गुनासोलाई मध्येनजर गर्दै सकेसम्म गुणस्तरीय बीउ ल्याइने काफ्लेले बताउनुभयो । कुप्रीज्योती, सिन्दुरी, कार्डिनल र एम एस ४२ जातका आलुका बीउहरू खरिद प्रक्रियामा रहेको अबको ८-१० दिन भित्र बीउ आइसक्ने बताउनुभयो।उहाँले बीउको जात अनुसार प्रती किलो रू ५० देखि ६५ सम्म पर्न सक्ने र सोही मूल्यमा ५० प्रतिशत अनुदान पाइने बताउनुभयो।
गत वर्षदेखि भीरकोटको पकान, सिमलचौर, ठाडोहट्टिया, गैह्राथोक लगायतका फाँटलाई पकेट क्षेत्रको रुपमा विकास गरि व्यवसायिक आलु उत्पादन गर्न थालिएको छ। नगरपालिकाले कृषि क्षेत्रको विकासका लागी गत वर्ष देखि धान, गहुँ, आलु र फलफुलका बेर्ना अनुदानमा वितरण गर्दै आएको छ।