कृषि बीमाको अनुदान रकम ८० प्रतिशत कायम
भीरकोट खबर डेस्क, ४ कार्तिक २०७८
कृषि तथा पशुपन्छी बीमाको अनुदान रकम बढाएर ८० प्रतिशत कायम गरिएको बीमा समितिले जनाएको छ।नेपालको बीमा नियमनकारी संस्था बीमा समितिले आज एक सूचना प्रकाशित गरी यस सम्बन्धमा जानकारी दिएको हो।
तत्कालिन के.पी. शर्मा वली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/७९ को आय व्ययको सार्वजनिक जानकारी वक्तव्यबाट कृषि तथा पशुपन्छी बीमालाई प्रदान गरिँदै आएको बिमा अनुदान रकमलाई ७५ प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारेको थियो । साउन महिना देखि असोज सम्म कृषि बीमा गर्ने कृषकहरूमध्ये ५० प्रतिशतले प्रिमियम तिर्न बाध्य भएका थिए ।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि जारी भएपछि जारी भएको २०७८/७९ को अर्थ सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकमा सो अनुदान रकमलाई बढाएर ८० प्रतिशत कायम गरिएको हो । विधेयक प्रमाणीकरण भएको मिति २०७८/०६/०७ गते देखि लागू हुने गरी अनुदान रकम बढाइएको समेत बीमा समितिले जानकारी दिएको छ । अब कृषकहरूले कुल प्रिमियमको २० प्रतिशत रकम मात्रै तिरे पुग्छ ।
उदाहरणको लागि कुनै एउटा पशुपालन गर्ने कृषकले रु. १ लाख मूल्य कायम भएको भैंसीको बिमा गर्दा रू ५००० रकम लाग्छ भने कृषकले रू १००० तिरे पुग्छ । रू ४,००० सरकारले बीमा गर्ने कम्पनीलाई दिन्छ । यसै गरी रू २० रूपैयाँको हुलाक टिकट बाहेक रू १ सय तिरेको खण्डमा पशुपालक किसानको रू २ लाख सम्मको दुर्घटना बीमा पनि कृषि बीमा अन्तर्गत नै गरिन्छ । कृषि तथा पशुपन्छी बीमाको बारेमा थप जानकारी लिन नजिकको कृषि तथा पशु सेवा कार्यालय वा निर्जीवन बीमा कम्पनीहरूमा सम्पर्क गर्न सकिने भीरकोट नगरपालिका पशु सेवा शाखा कार्यालयका नायव पशु सेवा प्राविधिक चण्डी प्रसाद गैह्रेले जानकारी दिनुभयो । कृषि बीमा सम्बन्धमा पर्याप्त जानकारी नहुँदा व्यवसायिक कृषि गर्ने कृषकले बाहेक अन्य कृषकहरूले कृषि बीमालाई त्यति प्राथमिकता दिएको पाईंदैन ।