अर्जुनचौपारीमा बृहद् निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

असार ०८, २०७९


स्मार्ट अखबार संवाददाता
८ असार २०७९

 स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा गर्ने र रोगी व्यक्तिको रोग निवारण गर्ने प्रमुख उद्देश्यका साथ अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा पालिकाको केन्द्र अर्जुनचौपारीको पञ्चकन्या माध्यमिक विद्यालयमा
बृहद् निशुल्क आयुर्वेद स्वास्थ्य शिविर संचालन गरिएको छ। चिकित्सक सहितको बृहत निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ३०३ जना सेवाग्राहीहरुले स्वास्थ्य परिक्षण गराइ औषधोपचार सहित स्वास्थ्य लाभ लिनुभएको छ । शिविर गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी, गाउँपालिका उपाध्यक्ष सपना गुरुङ , प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेत, आयुर्वेद शाखाका शाखा प्रमुख ललित थापाको उपस्थितिमा संचालन गरिएको थियो।शिविरमा डा. तुलसी श्रेष्ठको नेतृत्वमा, जिल्ला आयुर्वेद स्याङ्जाका प्रमुख देबेन्द्र आचार्य सहितको टोलिले स्वास्थ्य परिक्षण गरी निशुल्क रुपमा पालिकाको तर्फबाट औषधि समेत वितरण गरेको थियो ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले शिविरमा सम्बोधन गर्दै जनताको स्वास्थ्य उपचारको निम्ती पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो। साथै उहाँले आयुर्वेद चिकित्सा शिक्षा पद्दति हाम्रो देश समाज र पालिकाको हावापानी, संस्कृतिसँग मिल्ने हुँदा यो मौलिक चिकित्सा पद्दति आवश्यक रहेको र यसलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभएको थियो।उहाँले विभिन्न संक्रामक रोग र महामारीजन्य रोगमा रोग प्रतिरोधात्मक क्षमता अभिवृदि गर्नका लागि आयुर्वेद चिकित्सा पद्दतिको अति महत्वपुर्ण स्थान रहेकाले दीर्घायु  जीवनका लागि आयुर्वेदिक उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।आफ्नो गाउँठाउँमै बृहत् स्वास्थ्य शिविर संचालन भएपछि स्थानियहरू हर्षित छ्न्।आयुर्वेद शाखा प्रमुख ललित थापाका अनुसार शिविरमा सेवा लिने सेवाग्राहीहरू मध्ये आमवात र अम्लपित्तका बिरामीहरू बढी थिए। सेवाग्राहीहरूले स्वास्थ्य शिविर संचालन नियमित रूपमा गरिनुपर्ने र शिविरमा आउन जान सहज यातायातको व्यवस्था गर्नुपर्ने माग समेत राखेका थिए। सबै जसो कार्यक्रम तथा शिविर पालिकाको केन्द्रमै हुँदा अन्य गाउँठाउँका बासिन्दालाई सेवा लिन असहज भएको उनीहरूको गुनासो थियो।