आँधिखोला गाउँपालिकामा नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह

साउन १९, २०७९


स्मार्ट अखबार संवाददाता ,१९ साउन २०७९

स्याङ्जाको आँधिखोला गाउँपालिकाले नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह गर्न सुरू गरेको छ।५ करोड ६४ लाख ४२ हजार ८ सय ६२ रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनमा कार्यपालिका र न्यायपालिकाको लागि १/१ वटा मिटिङ हल सहित ३४ वटा कोठाहरू रहेका छ्न्। देव एण्ड सायर / क्याराभान जे.भी सँग २०७६ जेठ १० मा भवन निर्माण सम्झौता भएको पालिकाका इन्जिनियर विशाल जि.सी. ले जानकारी दिनुभयो । कोरोना महामारी र चुनावका कारणले तोकीएको सम्झौता अवधिभन्दा ६ महिना ढिलोगरी भवन निर्माण सम्पन्न भएको पालिकाले जनाएको छ।

यस अघि पालिकाले कृषि तथा पशु सेवा केन्द्रका पुराना संरचनालाई मर्मत संभार गरी प्रशासकीय सेवा प्रदान गर्दै आएको थियो। सुविधा सम्पन्न नयाँ भवन निर्माण भएपछि गुणस्तरीय सेवा प्रदान गर्न सहज हुने पालिकाका नवनिर्वाचित अध्यक्ष विश्व पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, ” भवन आँफैमा साध्य होइन, साधन हो। कार्यालय व्यवस्थापन गर्न र पालिकाबासीलाई सहज, जनमैत्री र गुणस्तरीय सेवा प्रदान गर्न पूर्वाधारको सही सदुपयोग गर्न हामी प्रतिबद्ध छौं।”

निवर्तमान पालिका अध्यक्ष सुधिर कुमार पौडेलले भन्नुभयो, “पुरानो, साँघुरो र जिर्ण भवनबाट सेवा प्रवाह गर्न एकदमै गाह्रो भएको थियो। कार्यालय एवं कागजपत्र व्यवस्थापनमा पनि चुनौती थियो तर हामीले सेवा प्रवाहलाई गुणस्तरीय बनाउन सक्दो प्रयास गरेका थियौं। आफ्नो कार्यकालमा सुरू भएको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भै सेवा प्रवाह गर्ने कार्य प्रारम्भ भएकोमा एकदमै हर्षित छु।”
पालिकाबासीले अब सम्पूर्ण प्रशासकीय सेवा एउटै छानामुनी प्राप्त गर्न सक्ने गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले बताउनुभयो।