अनुदान आलु प्रकरण : छैनन शाखा प्रमुख, कार्यालय सहयोगीको मनपरी

मङि्सर ०२, २०७८


भीरकोट खबर डेस्क, २ मङ्सिर २०७८



भीरकोट कृषि शाखालाई समयमा अनुदानको आलुको बीउ वितरण गर्न नसकेको आरोप लागिरहेको समयमा कार्यालय प्रमुख नहुँदाको राँइदालो छ्ताछुल्ल भएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको आलुको बीउ वितरणमा कार्यालय सहयोगीले मनपरि गरेको पाइएको छ। कृषकहरूको माग अनुसार वडाबाट तथ्यांक लिएको भए पनि वडा अध्यक्षहरू संग समन्वय नगरी कार्यालय सहयोगी नारायण खनालले आफुखुसी वितरण गरेको पाइएको हो।वडा अध्यक्षहरूलाई शनिबार १० बजेदेखी वितरण गर्ने सूचना दिएको भए पनि आजैदेखि खनालले आफू अनुकुलका कृषकहरूलाई वितरण गरेका हुन्।विना समन्वय आलु वितरण गरेको थाह पाएपछि वडा नं २ का अध्यक्ष कमल विकास त्रिपाठीले हस्तक्षेप गरेपछि आलुको वितरण रोकिएको छ।वडा अध्यक्ष त्रिपाठीले जिम्मेवारी लिएका कृषि विज्ञ जिम्मेवार नहुँदा र विना मापदण्ड बीउ वितरण गर्न खोज्दा समस्या भएको आरोप लगाउनुभएको छ।वडासँग तथ्यांक लिने तर सहयोगीका भरमा कामकारबाही र सूचना आदानप्रदान गर्ने प्रवृतिले कृषि शाखाको कार्यशैलीमा मनपरीतन्त्र हावी भएको आरोप लगाउँदै त्रिपाठीले कृषि शाखाले वडा अध्यक्षहरूलाई अप्ठ्यारोमा पार्न खोजेको बताउनुभयो।वडा नं ६ का अध्यक्ष लक्ष्मण खत्री क्षेत्रीले पनि वडा सँग समन्वय नगरी वितरण गरिएको जानकारी दिनुभयो। भीरकोटको कृषि शाखा विज्ञ, जेटीए र कार्यालय सहयोगीको भरमा चलिरहेको छ।शाखा प्रमुख नहुँदा र शाखामा कार्यरत कृषि विज्ञ निदाउँदा समयमै बीउ नआएको कृषकहरूको आरोप छ।“शनिबार १० बजे बाड्ने सूचना दिएर आजै कार्यालय सहयोगीले आलु बाँडेछ्न् नि? के हो वास्तविकता ?” भन्ने जिज्ञासामा कृषि विज्ञ द्रोणराज काफ्लेले घुमाउरो पारामा प्राविधिक त्रुटि भएको भन्दै कृषि शाखाको गल्ती स्वीकार्नु भयो।