आठौं वालिङ महोत्सवको तयारीमा तिव्रता, २५० स्टल रहने

पुष २३, २०८०


नारायणप्रसाद कोइराला
२३ पुस २०८०, सोमबार

” हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ यही माघ १८ गतेदेखि २८ गतेसम्म संचालन आठौं महोत्सवको तयारीलाई तिव्रता दिइएको छ। गण्डकी प्रदेशकै उत्कृष्ट महोत्सवका रूपमा २०६३ सालदेखी आयोजना गरिदै आएको वालिङ महोत्सव वालिङ खेलमैदानमा संचालन हुने आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघले प्रष्ट पारेको छ।

आइतबार वालिङ खेलमैदानमा आयोजित पत्रकार सम्म्मेलनमा बोल्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले महोत्सवमा २५० स्टल रहने र करिब ५० प्रतिशत स्टल बुकिङ भैसकेको जानकारी दिए।हालसम्म प्रचारप्रसार , सरोकारवाला संघसंस्था , सरकारी निकाय, व्यापारिक प्रतिष्ठान ,उद्यमी समूह लगायतका सबै पक्षसँग छ्लफल र समन्वय , अन्तरक्रिया र भेला सम्पन्न गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।वालिङ नगरपालिकाले खेलमैदान प्रयोग गर्न अनुमती दिएको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले महोत्सव सफल पार्न सम्पूर्ण वालिङवासी, उद्यमी, व्यवसायी र जिल्ला भित्र रहेका उद्योग वाणिज्य संघलाई समेत आग्रह गरेका छन्।

खेलमैदान निर्माणमा लाखौं खर्च भएको , दुबो रोप्न मात्रै ४० लाख हाराहारीमा खर्च भएको हुँदा खेलमैदानमा असर पर्नेगरी महोत्सव गर्न नहुने भन्दै नागरिक स्तरबाट सामाजिक संजालमा विरोध भएपछि आयोजकले महोत्सव स्थल परिवर्तन नहुने कुरामा प्रष्ट पार्न र तयारीको बारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको थियो।

महोत्सवको ७ औं संस्करणसम्म वालिङ खेलमैदानमा नै महोत्सव संचालन गरिएको र सबै दृष्टिबाट वालिङ खेलमैदान नै सर्वोत्तम विकल्प भएकाले महोत्सव खेलमैदानमा नै गरिने पूर्व अध्यक्ष पूण्य प्रसाद अर्यालले प्रष्ट पारे। वालिङ नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलिप प्रताप खाँणले वालिङ खेलमैदान वालिङको साझा सम्पत्ति भएकाले वालिङका नागरिकको हितमा प्रयोग गर्दा कसैले पनि प्रश्न उठाउन आवश्यक नरहेको जिकिर गरेका थिए।

विज्ञापन

औद्योगिक व्यापार मेलाका साथसाथै महोत्सवको आकर्षणको रूपमा आधुनिक कृषि औजार प्रदर्शनी, विद्यार्थी आविष्कार प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी ,अदुवा तथा जडिबुटी प्रदर्शनी, स्याङ्जा डान्स आइडल सिजन ३, भजन प्रतियोगिता ,रत्यौली प्रतियोगिता, सांस्कृतिक एवं मनोरञ्जनात्मक प्रतियोगिताहरू रहने आयोजकले जनाएको छ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

१० करोड सम्मको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको महोत्सव ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवबाट १ करोड २६ लाख आम्दानी गर्ने लक्ष्य राखेको संस्थाले महोत्सव संचालन गर्न करिब ८० लाख खर्च हुने आँकलन राखेको छ। करिब ५७ लाख बचत गर्ने लक्ष्य राखेको वालिङ उद्योग वाणिज्य संघले नाफाको ५ प्रतिशत खेलमैदानको संरक्षण र विकासका लागि खर्च गर्ने जनाएको छ।