भीरकोट नगरपालिका वडा नं. ५ को पकानमा २० हप्ते आई.पि.एम. कृषक पाठशाला सम्पन्न

असोज २७, २०७७


२०७७ जेष्ठ २८, भीरकोट



भीरकोट नगरपालिका वडा नं. ५ को आयोजनामा आई.पि.एम. कृषक पाठशाला संचालनमा ल्याईएको थियो । पाठशालाको समापन गर्दै नगरप्रमुख छायाराम खनालले माटो सुहाउँदो कृषि खेती गर्नुपर्ने भन्दै नगरपालिकाले एक गाउँ एक नर्सरी,  एक घर एक करेसाबारीको अभियान संचालन गर्ने योजना रहेको  बताउनुभयो । साथै प्रमुख खनालले भीरकोटमा कृषिजन्य उत्पादनहरु पालिकालाई पुगेर समेत बाहिर निर्यात गर्न तयार रहेको भन्दै लकडाउन खुल्नासाथ कृषिउपज निर्यातमा आतुर रहेको बताउनुभयो । कृषकका कृषिउपज बजारीकरणको जिम्मा नगरपालिकाको रहेको भन्दै बीउ बिजन,  औजार अनुदानमा बितरण गरिएको बताउनुभयो । कृषकलाई आधुनिक कृषि प्रणालीमा आकर्षित गरी नगरका विभिन्न स्थानमा संकलन केन्द्र समेत स्थापना गर्न नगरपालिका तयार रहेको समेत प्रमुख खनालले बताउनुभयो । गत पकानमा गरिएको पाठशालामा काक्राबाली गरिएको थियो । २०४५ साल तिर एशियाकै ठूलो प्रजातिको  कुफ्रेज्योती जातको आलु उत्पादन भएको क्षेत्र पकान भएको भन्दै पकान फाँटलाई आलु पकेट एरियाको रुपमा विकसित गर्ने योजना रहेको प्रमुख खनालले बताउनुभयो ।



स्थानीय टिकाराम पंगेनीको २ रोपनी क्षेत्रफलमा लगाईएको बालीमा काक्रा उत्पादन भएका छन् । २८ जनाको सहभागिता रहेको पाठशाला समापनका अवसरमा पकान एकिकृत, शत्रुविज व्यवस्थापन आई.पि.एम. कृषक पाठशालाको समेत स्थापना गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष याम प्रसाद अधिकारी, प्रशिक्षक डाँसी नारायण अर्याल, ज्योति प्रसाद अर्याल, हेम प्रसाद तिवारी, रमकला अर्याल, दिपेन्द्र अर्याल, तुलसा अर्याल, राधा कुँवर, पोत प्रसाद तिवारी लगायतले बोल्नुभएको थियो । पाठशालाका अध्यक्ष शिव प्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दिपा पौडेल र स्वागत गंगा बहादुर जिटिले गर्नुभएको थियो । पाठशाला संचालन अवधिभरको आय वार्ड नं. ५ बाट १ लाख, काक्रा विक्रीबाट २७ हजार ३ सय ११ र व्यय ६५ हजार ४ सय ६ रहेको छ । सहभागिहरुले कृषिको वास्तविकता बल्ल बुझेको, रोग किरा व्यवस्थापनको बारेमा जानकारी प्राप्त भएको, सत्रुजिव र मित्रुजिवको बारेमा जानकारी भएको, कृषिउपजको नगरपालिकाले बजारीकरण गरिदिनुपर्ने प्रतिक्रिया दिएका दिनुभएको थियो ।

आई.पि.एम. कृषक पाठशालामा सहभागी २८ जनालाई प्रमाणपत्र प्रदान समेत प्रदान गरीएको थियो ।