भीरकोट नगरपालिका वडा नं. ३ को बाँस्तारामा २८ हप्ते आई.पि.एम. कृषक पाठशाला सम्पन्न भएको छ

असोज २७, २०७७




२०७७ जेष्ठ १६, भीरकोट



भीरकोट नगरपालिका र कृषि ज्ञान केन्द्र स्याङ्जाको संयुक्त आयोजनामा आई.पि.एम. कृषक पाठशाला संचालनमा ल्याईएको थियो ।  पाठशालाको समापन गर्दै नगरप्रमुख छायाराम खनालले माटो सुहाउँदो कृषि खेती गर्नुपर्ने भन्दै नगरपालिका एक घर एक करेसाबारीको अभियानमा लागिपरेको बताउनुभयो । साथै प्रमुख खनालले भीरकोटमा कृषिजन्य उत्पादनहरु पालिकालाई पुगेर समेत बाहिर निर्यात गर्न तयार रहेको भन्दै लकडाउन खुल्नसाथ कृषिउपज निर्यातमा आतुर रहेको बताउनुभयो । साथै प्रमुख खनालले बित्तामा कोदो, एकहातमा धान, डोको छिर्ने मकै भन्ने भनाईलाई अनुशरण गर्नुपर्ने बताउनुभयो । कृषकका कृषिउपज बजारीकरणको जिम्मा नगरपालिकाको रहेको भन्दै विउविजन, औजार अनुदानमा वितरण गरिएको बताउनुभयो । कृषकलाई आधुनिक कृषि प्रणालीमा आर्कषित गरी नगरका विभिन्न स्थानमा संकलन केन्द्र समेत स्थापना गर्न नगरपालिका तयार रहेको  समेत प्रमुख खनालले बताउनुभयो । गत धुर्पालमा गरिएको पाठशालामा लहरेबालीको विजारोपण, गोडमेल देखि तरकारी फलाउने समेत गरिएको थियो ।

स्थानीय तोरणबहादुर खत्री, यामबहादुर मल्ल र डम्मरबहादुर मल्लको ४ रोपनी क्षेत्रफलमा लगाईएको तरकारी अन्तर्गत अहिले काँक्रा, घिरौँला, लौका उत्पादन भएका छन् । ५० जनाको  सहभागिता रहेको पाठशाला समापनका अवसरमा जलदेवी, एकीकृत, सत्रुविज व्यवस्थापन आई.पि.एम. कृषक पाठशालाको समेत स्थापना गरिएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेल, वडा अध्यक्ष बाबुराम श्रेष्ठ, कृषि प्रसार अधिकृत ईश्वरीप्रसाद अर्याल, प्रशिक्षक डाँसीराम अर्याल, विष्णुप्रसाद काफ्ले,  डम्मरबहादुर मल्ललगायतले बोल्नुभएको थियो । पाठशालाका अध्यक्ष लोकबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राधा के.सी. खड्का र स्वागत थमनबहादुर कार्कीले गर्नुभएको थियो । पाठशाला संचालन अवधिभरको आय नगरपालिकाबाट १ लाख ५० हजार, तरकारी बिक्रीबाट १९ हजार २ सय र व्यय ७२ हजार ७ सय ७७ रहेको छ । सहभागिहरुले कृषिको वास्तविकता बल्ल बुझेको, रोग किरा व्यवस्थापनको बारेमा जानकारी प्राप्त भएको, सत्रुजिव र मित्रुजिवको बारेमा जानकारी भएको, कृषिउपजको नगरपालिकाले बजारीकरण गरिदिनुपर्ने प्रतिक्रिया दिएका थिए ।