भीरकोट नगरपालिकाको छैटौं नगर सभा सम्पन्न

असोज ०७, २०७७


कृषि, पर्यटन र कोभिड-१९ को रोकथामलाई प्राथमिकता दिँदै आ.व. ०७७/०७८ को बजेट झण्डै ५८ करोड सार्वजनिक

चुत्र बहादुर महत, असार १८ भीरकोट

स्याङ्जाको भीरकोट नगरपालिकाले छैटौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ५७ करोड ९७ लाख ९९ हजार बजेट सार्वजनिक गरेको छ ।

भीरकोट नगरपालिकाका उप-प्रमुख सिमा के.सी. कर्माचार्यले छैटौं नगरसभामा बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै कूल विनियोजित रकममध्ये चालु तर्फ (सामाजिक सुरक्षा सहित) रु. ४३ करोड ३४ लाख ९९ हजार र पूँजीगत तर्फ रु. १३ करोड ६३ लाख विनियोजन गरीएको छ ।

प्रस्तुत बजेटमा संघीय समानीकरण अनुदान १० करोड २२ लाख, संघीय राजश्व बाँडफाँडबाट ७ करोड ९ लाख ८१ हजार, स-शर्त अनुदान २० करोड ७२ लाख, घटना दर्ता तथा (पञ्जीकरण)मा ३० लाख, संघीय सरकार समपूरक अनुदान ७९ लाख, संघीय सरकार विशेष अनुदान २ करोड ५० लाख, सामाजिक सुरक्षातर्फ ११ करोड, सडक बोर्ड नेपाल तर्फबाट ५० लाख र आन्तरिक आम्दानी २ करोड ३० लाख बाँडफाँड गरिएको छ ।

त्यसैगरी प्रदेश सरकार राजश्व बाँडफाँडबाट ३४ लाख ६८ हजार, प्रदेश सरकार समानीकरण अनुदानबाट १ करोड २० लाख ५० हजार, प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड गरी कुल ५७ करोड ९७ लाख ९९ हजार अनुमानित बजेट उप-प्रमुख सिमा के.सी. कर्माचार्यले छैटौं नगरसभामा प्रस्तुत गर्नु भएको हो ।

सभामा बाेल्दै नगर प्रमुख


आ.व. ०७७/०७८ का लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोरोना भाइरसको संक्रमण लगायत सबै रोग र विपद्बाट नागरीकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने, उपलब्ध स्रोत, साधन तथा अवसर र क्षमताको उच्चतम परिचालन गरी नगरपालिकाको समग्र विकासको गतिलाई निरन्तरता दिने, आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकास गरी “सम्वृद्ध भीरकोट, सुखी भीरकोटवासी” अभियानलाई अगाडी बढाउँदै कृषि, पर्यटन, स्वच्छ पिउने पानी, प्राविधिक एवं गुणस्तरीय शिक्षा, सूचना प्रविधिको विकास, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार निर्माण आदी क्षेत्रमा जोड दिने नीति लिइएको छ । 

कोरोनाले अस्तव्यस्त बनाएको बेला अलि बढी बजेट तथा कार्यक्रमा प्राथमिकता दिईएको भन्दै उप-प्रमुख के.सी.ले महिलाहरुको सीप र क्षमता विकासको लागि उप-मेयरसंग महिला कार्यक्रम लिएर गाउँ गाउँमा गई महिलाहरुलाई तालिम र लगानिको वातावरण सृजना गरी व्यावसायिक बनाई आर्थिक उपार्जन तर्फ लगाउने बताईन ।

साथै उप प्रमुख के.सी.ले धेरै थोरै सबै वर्गलाई बजेट तथा कार्यक्रमले सम्बोधन गरेकाले समृद्ध भीरकोट निर्माणको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

नगर प्रमुख छायाराम खनालले कोरोना भाइरसको कारण गत चैत्र महिनाभित्र भीरकोट नगरलाई बालमैत्री नगर घोषणा गर्ने भनिएतापनि हुन नसकेको भन्दै लकडाउन खुल्ने बित्तिकै यस आ.व.मा घोषणा गर्ने भन्दै नगरपालिकाभित्र रहेका हरेक धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासले निरन्तरता पाउने, कृषकलाई अनुदानमा आधुनिक कृषि औजार बीउ बेर्ना प्रदान गर्ने, यस वर्ष नगरका वडा कार्यालय नभएका वार्डको कार्यालय भवन निर्माण गर्ने, आँधीखोलाको तटबन्धन गर्ने र मेयरसंग जेष्ठ नागरिक आदिजस्ता कार्यक्रमहरुलाई बजेटको व्यवस्था गरेको बताउनु भयो ।

नगर प्रवत्ता दिपेन्द्र के.सी. द्वारा प्रस्तुत आर्थिक ऐन २०७७,  विनियोजन ऐन २०७७ र भीरकोट नगरपालिकाको बालबालिका सम्बन्धि ऐन २०७७, बालबालिका सम्बन्धि कार्यविधि २०७७ र लेखा समितिको प्रतिवेदन समेत छैटौं नगर सभाबाट सर्वसम्मत पारीत गरिएको थियो ।