भीरकोटमा सामाजिक दुरी कायम गरी कृषि उपजको खरिद बिक्री संचालन

असोज २७, २०७७


२०७७ जेष्ठ १०, भीरकोट

भीरकोट नगरपालिकाको सिसौघारी स्थित बसपार्कमा प्रत्येक हप्ताको शनिबार संचालन हुँदै आएको कृषि उपजको खरिद बिक्री कोभिड १९ का कारण बन्द रहेको अवस्थामा झण्डै ३ महिनाको अवधि पछि शनिबारबाट सामाजिक दुरी कायम राखी संचालनमा आएको छ ।

कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरण गर्न जारी लकडाउनले कृषकका कृषिउपजले बजार नपाईरहेका बेला भीरकोटले हाट बजार संचालनमा ल्याएको भन्दै नगर प्रमुख खनालले लकडाउनका कारण कृषिउपज कुहिएर चिन्तित भईरहेका किसानले उत्पादित कृषिजन्य वस्तुको बजारीकरणका लागि हाटबजार दैनिक बिहान ९ देखि साँझ ४ बजेसम्म संचालनमा आउने तर बिक्री भने दिउँसो १२ बजेपछि मात्र हुने प्रमुख खनालले बताए  ।

कृषकको उत्पादन नगरपालिकाले किन्ने र होलसेल मूल्यको २ प्रतिशत राखेर नगरपालिकाले उपभोक्तालाई बिक्री बितरण गर्ने र कृषकले आफ्ना उपजहरु बिहान १२ बजे अगावै हाटबजारमा ल्याउनुपर्ने र नगरपालिकाले चलेको होलसेल भाउमा किनेर हाटबजारमा बेच्ने नगर उप प्रमुख सिमा के.सी. कर्माचार्यले बताउनुभयो ।

कृषि गरेर आफ्नो जिविका चलाई राखेका भीरकोटका कृषकहरु कोभिड १९ का कारण मर्कामा परेका थिए, आफुले उत्पादन गरेका वस्तुहरुले बजार भाउ नपाएर हैरान भैरहेको अवस्थामा नगरपालिकाले खरीद गरी किसानको पसिनाको वास्तविक मूल्य पाएको भन्दै स्थानीय कृषकहरु खुसीले गदगद हुदै स्थानीय सरकार भनेको अहिले आएर बुझेको भन्दै स्थानीय सरकारलाई धन्यवाद दिएका थिए ।

आजबाट दैनिक १२ देखि ४ बजेसम्म कृषि उपजको खरिद बिक्री गएर ताजा फलफुल तरकारी खरीद गर्न पाउने भएसी किनमेल गर्न आएका भीरकोटका उपभोत्ताहरु समेत हर्षित भएका थिए ।



हाट बजारमा दैनिक २ जना कर्मचारीले फलफुल तथा तरकारी किन बेच गर्ने व्यवस्था मिलाई हाट बजारलाई व्यवस्थित गरीएको भन्दै अहिले हाट बजारमा काँक्रा, घिरौला, लौका, करेला, फर्सीहरु प्रशस्त मात्रामा रहेको भीरकोट नगरपालिका कृषि संयोजक तथा नगर प्रवत्ता दिपेन्द्र के.सी.ले बताए ।

लक डाउनले गर्दा भीरकोटका जनताहरु आफ्नो बाँझो रहेका खेतियोग्य जग्गालाई उपयोग गर्न थालेको भन्दै अधिकारीले बाँझो खेतियोग्य जमिनमा ब्लक एरिया मार्फत माटो सुहाउँदो आलु, मकै, धान खेती गर्ने निर्णय नगरले गरेपछि प्रविधिको अधिकतम प्रयोग गरी कृषकलाई कृषिमा आर्कषित गरिने वडा नं. ५ का अध्यक्ष याम प्रसाद अधिकारीले वताए ।

शनिबारबाट शुरु भएको हाट बजारमा सामाजिक दुरी कायम गरी भीरकोट नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक र उपभोक्ताहरुको उपस्थिति रहको थियो ।