भीरकोटमा विशेष योग प्रशिक्षण शिविर सुरू

जेठ १८, २०७९


नारायण प्रसाद कोइराला
१८ जेठ २०७९

स्याङ्जाको बालमैत्री नगर भीरकोटमा विशेष योग प्रशिक्षण शिविर सुरू भएको छ । “योग गरौं, निरोगी रहौं” भन्ने नाराका साथ संचालन गर्न लागिएको योग शिविरमा पतञ्जली योगपिठ हरिद्वारका योग साधिका पूज्य साधवी देवादितीले प्रशिक्षण दिइरहनुभएको छ। आँधीखोला सिटी हल कृषिमा संचालन भैरहेको योग शिविरमा करिब १०० जनाको सहभागीता रहेको छ। पतञ्जली योग समिति स्याङ्जाको आयोजना र भीरकोट नगरपालिकाको व्यवस्थापनमा संचालन भएको योग शिविर बिहान ५ बजे देखि ७ बजेसम्म पाँच दिन सम्म संचालन हुने आयोजकले जनाएको छ।

भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्य समुद्घाटन गर्नुभएको योग शिविरमा सहभागी प्रशिक्षार्थीहरूलाई पतञ्जली योग समिती स्याङ्जाका महिला महामन्त्री सीता के.सी. ले स्वागत गर्नुभएको थियो।कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि गोविन्द कुमार कर्माचार्यले हाम्रो अभियान, स्वास्थ्यमा सान भन्ने नारालाई सार्थक बनाउन अनुरोध गर्दै मन र स्वास्थ्यको लागि समेत योग आवश्यक रहेको बताउनुभयो।सबैलाई योग सिक्न र निरोगी बन्न नगर प्रमुख कर्माचार्यको आग्रह छ।समुद्घाटन समारोहमा पतञ्जली महिला योग समिती स्याङ्जाकि अध्यक्ष कविता भूसाल, केन्द्रिय सदस्य सरिता लम्साल, गण्डकी प्रदेश अध्यक्ष नरेन्द्रमान लालचन,योग शिविर संयोजक आनन्द चिलुवाल लगायतका वक्ताहरूले योग र स्वास्थ्यको अन्तरसम्बन्धको विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो।पतञ्जली योग समिती स्याङ्जाका अध्यक्ष नारायण प्रसाद तिवारीको सभापतित्वमा सम्पन्न भएको योग शिविर भीरकोटका जनप्रतिनिधि, राजनीतिज्ञ र सर्वसाधारणहरूको उपस्थिती रहेको छ। समुद्घाटन समारोहको संचालन पतञ्जली योग समिती स्याङ्जाका महामन्त्री खगेन्द्र प्रसाद अर्यालले गर्नुभएको थियो।