“नगरकी छोरी” कार्यक्रम :  छोरीको खातामा नगद रू ५ हजार

मङि्सर २२, २०८०


स्मार्ट संवाददाता, गल्याङ

२२ मसिंर २०८०, शुक्रबार 

स्याङ्जाको  गल्याङ नगरपालिकाले ” नगरकी छोरी” कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।   कार्यक्रम  अन्तर्गत नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने  व्यवस्था कार्यान्वयनमा आएको हो।

चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम अनुसार  बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको नगर उपप्रमुख हेमा न्यौपानेले  जानकारी दिइन्। कार्यक्रमको कार्यान्वयनका लागि यो आर्थिक वर्षमा पालिकाले ५ लाख रूपैयाँ विनियोजन गरेको छ।

गल्याङ नगरपालिका  चालु आर्थिक  वर्ष २०८०/८१ मा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन्।

” महिला शसक्तिकरण कार्यक्रम अन्तर्गत नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेका हो ’, उनले भनिन्, ‘चालु आर्थिक वर्षबाट शुरु भएको यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने छौँ ।’ छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोल्ने व्यवस्था मिलाइएको उनले बताइन्।

नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन। बिहीबार गल्याङ-३ स्थित एक दलित समुदायकी सुत्केरी आमालको छैटौँ छोरीका रूपमा जन्मिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी भएको हो ।