९ वटै वडामा निशुल्क वाइफाई सेवा सुचारु

साउन ०६, २०७९


नारायण प्रसाद कोइराला
६ श्रावण २०७९

स्याङ्जाको भीरकोट नगरपालिकाका ९ वटै वडाका सार्वजनिक स्थान/कार्यालयहरूमा जडान गरिएका फ्री वाइफाइ जोनमा वाइफाइ सेवा सूचारू भएको छ। कोभिड-१९ को दोस्रो लहरका कारण विद्यार्थीहरु विद्यालयमा उपस्थित भएर पढ्ने वातावरण नभएको र कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गरि ग्रामीण भेगका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पठनपाठन गर्न टेवा पुग्ने र एकै टोलका विद्यार्थीहरु आफ्नो वडाको सार्वजनिक स्थानमा जम्मा भई भौतिक दुरी कायम गरि इन्टरनेटको सेवा लिन सक्ने गरी नगरपालिकाले सम्पूर्ण वडा कार्यालयको सार्वजनिक पहुँचको स्थान जस्तै वाल विकास केन्द्र, समाज भवन, आमा समुहको भवन, ज्ञान केन्द्र आदि जस्तो ठाउँबाट फ्री वाइफाई इन्टरनेट जडानको कार्य सुरु गरेको थियो। उक्त कार्य कोभिड-१९ को संक्रमणको अवस्थामा पूर्ण रुपमा सम्पन्न हुन नसकेको भएतापनि अहिले पुर्वउल्लेखित सम्पूर्ण स्थानमा निशुल्क वाइफाई इन्टरनेट सेवा सुचारु भएको हो। कार्यपालिकाको ८७ औं बैठक एवम् नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकले नगरपालिकाभित्रका क्षेत्रमा हाल सञ्चालनमा रहेका फ्रि-वाईफाई जोनको अवस्था अध्ययन गरी सोबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रत्येक वडाको ३ ठाउँ हुने गरी २७ स्थानमा फ्रि वाईफाई जोन बनाउने निर्णय गरेको थियो । थप २७ स्थानमा वाइफाई जोन स्थापनाका  लागि नगरपालिकाले आ.व. २०७९/८० मा बजेट विनियोजन समेत गरेको छ ।

निवर्तमान नगर प्रमुख छायाराम खनालको संयोजकत्वमा सबै विद्यार्थीहरुलाई अनलाइनका माध्यमबाट अध्ययन गर्न पहुँच पुर्याउने उद्देश्य अनुसार नगरपालिकाले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडसंग सम्झौता गरेर फ्री वाईफाई जोनको जडान कार्य सुरु गरेको थियो। कोभिड-१९ संक्रमणको बेला पठन पाठनबाट बन्चित भएका विद्यार्थीलाई लक्षित गरि सुरुवात गरिएको यो सेवा हाल भीरकोट नगरवासी सर्वसाधारणले पनि उपभोग गर्न पाएका छन्।

फ्री वाईफाई जोन स्थापनाको प्राविधिक पक्षमा बोल्दै भीरकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत कमल रेग्मीले नगरपालिकाले पहिलो चरणमा नगरपालिका अन्तरगतका १० वटा सार्वजनिक स्थानमा फ्री वाइफाई जोनको स्थापना गरि सेवाको सुरुवात गरेको बताउनुभयो। प्रति वाइफाई फ्री जोनका लागि सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि. संग ५ वर्ष सम्मको सम्झौता रहनेछ। हरेक वाइफाई जोनबाट एक पटकमा अधिकतम ६० जनाले न्युनतम ७ एम.बि.पि.एस. गतिको वाईफाई सुविधा प्रयोग गर्न सक्नेछन् l फ्री वाइफाई जोन सेटअपका लागि इन्टरनेट सेवा शुल्क वापत प्रति साइट ५ वर्ष सम्मको १५ हजार रुपैयाँका दरले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडसंग सम्झौता भएको र विद्युतीय वायरिङ, वैकल्पिक डिभाइस सेटअप, आदि गरि अतिरिक्त एक लाख पचास हजार रुपैया खर्च भएको रेग्मीले बताउनुभयो l हाललाई नगरपालिका केन्द्र र १ देखि ९ वटै वडाको १-१ स्थानबाट वाइफाई सेवा सुरुवात गरिएको छ। अहिले जडान भई संचालनमा आएका निशुल्क वाइफाई जोनहरु निम्न स्थानमा रहेका छन्।



१. भीरकोट नगरपालिका, नगरकार्यपालिकाको कार्यालय परिसर

२. वडा नम्बर १ अन्तर्गत रहेको बाल सिकाइ केन्द्र  तथा जनकल्याण युवा क्लबको भवन, जगतपुर दरबार

३. वडा नम्बर २ स्थित दहथुम प्रहरी चौकी, सामुदायिक भवन (सपौदे), साविकको कृषि सेवा केन्द्र, ब्याडमिन्टन कोर्ट, आँधीखोला सिटि हल  परिसर

४. वडा नम्बर ३ स्थित बानेथोक स्वास्थ्य चौकी, वडा कार्यालय, सहिद शुक्र मा.वि 

५. वडा नम्बर ४ स्थित वडा कार्यालय भवन परिसर

६. वडा नम्बर ५ स्थित वडा कार्यालय, शहरी स्वास्थ्य इकाई आसपासको क्षेत्र

७. वडा नम्बर ६ सिमलचौर स्थित सामुदायिक भवन र आसपासको क्षेत्रमा

८. वडा नम्बर ७ स्थित श्री ओमकारेश्वर शिव मन्दिर र आसपासको क्षेत्रमा

९. वडा नम्बर ८ ढापुक स्थित वडा कार्यालय, ढापुक स्वास्थ्य चौकी आसपासको क्षेत्रमा

१०. वडा नम्बर ९ स्थित वडा कार्यालय, कालिकाकोट स्वास्थ्य चौकी, सिर्कोट बजार आसपासको क्षेत्रमा

केहि वाइफाई फ्री जोनका तस्बिरहरु:

यसरी निशुल्क वाइफाई जोन सुरुवात गरिएको क्षेत्रको स्थलगत अध्ययन र पृष्ठपोषणका आधारमा स्तरोन्नती गर्ने, सेवा क्षेत्रको दुरी बढाउने कार्य निरन्तर संचालन गरिने कुरा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो।

साथै दोश्रो कार्यकालका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बैठकले हाल सञ्चालनमा रहेका फ्रि-वाईफाई जोनको अवस्था अध्ययन गरी सोबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रत्येक वडाको ३ स्थान हुने गरी २७ नयाँ ठाउँमा फ्रि वाईफाई जोन बनाउने निर्णय समेत गरेको छ।

नवनिर्वाचित नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले इन्टरनेटको अधिकतम आवश्यकता रहेको क्षेत्र, उपलब्धता तथा वडा समितिको सिफारिसको आधारमा हरेक वडा कार्यालय अन्तर्गतका क्षेत्रहरुमा थप ३ वटा स्थानमा यो सेवा विस्तार गरिने बताउनुभयो।