वालिङका नगरप्रमुख खाणद्वारा ४३औँ पटक रक्तदान

जेठ १४, २०७९


कला राना
१४ जेष्ठ २०७९

स्याङ्जा । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाणले ४३औँ पटक रक्तदान गर्नुभएको छ ।

हरेक सङ्घ संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै आउनुभएका नगरप्रमुख खाणले शनिबार रोटरी क्लब अफ वालिङद्वारा आयोजित रक्तदान कार्यक्रममा ४३औँ पटक रक्तदान गर्नुभएको छ ।

नगरप्रमुख खाणले रक्तदान जीवनदान भएकाले आफू हरेक रक्तदान कार्यक्रममा गएर रक्तदान गर्दै  आएको बताउनुभयो ।



“हामीले गरिएको रक्तदानले अस्पतालमा रगतको अभावमा मृत्युसँग लडिरहनु भएकाहरूलाई नयाँ जीवन मिल्नेछ भन्ने विश्वासका साथ म हरेक यस्ता कार्यक्रममा सहभागी भएर रगत दान गरेको छु ।”, उहाँले भन्नुभयो ।

उहाँले विगत १ महिनादेखि सबैको ध्यान निर्वाचनमै केन्द्रित भइरहेका बेला रोटरीले रक्तदान कार्यक्रमको आयोजना गरी रगत सङ्कलनको वातावरण सृजना गरेको भन्दै क्लबप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले नगरपालिकाले यस्ता सामाजिक तथा रचनात्मक कार्यमा हरेक सङ्घसंस्था तथा क्लबहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

वालिङ १० फूलबारीस्थित डायलिसिस सेन्टरमा आयोजित कार्यक्रममा नगरप्रमुख खाणले रक्त ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो ।

रक्तदान जीवनदान भन्ने नाराका साथ रोटरी क्लबले गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष युवराज पाठकले जानकारी दिनुभयो ।

क्षेत्रिय रक्तसञ्चार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

निर्वाचनका कारण सबैको ध्यान निर्वाचन प्रचार प्रसार मतगणना, विजयी र्‍यालीलगायत निर्वाचनमै सबै केन्द्रित हुँदा रक्तदान कार्यक्रम सञ्चालन हुन सकिरहेको थिएन । रगतको अभाव भइरहेको विषम परिस्थितिमा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको कोषाध्यक्ष गणेश राउतले बताउनुभयो ।

रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । सङ्कलित ७१ युनिट रगत पोखरा लगिएको छ ।

कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यार्थीहरूलगायत विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए ।

सामाजिक कार्यमा सक्रिय रहेको क्लबले गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित फूलबारीमा निःशुल्क डायलिसिस सेवा प्रदान गरिरहेको छ ।

डायलिसिस सेन्टरमा दुई चरणमा ३७ जनाले निःशुल्क डायलिसिस गराइरहेका छन् । ४८ जनाको क्षमता रहेको सेन्टरमा दक्षिण पर्वत, पाल्पा र स्याङ्जाका मुटु रोगीले सेवा लिइरहेका छन् ।