वालिङमा भर्चुअल माध्यमबाट नगरसभा सम्पन्न

माघ ११, २०७८


तोलाकान्त बगाले
वालिङ, ११ माघ २०७८

स्याङ्जाको वालिङ नगरपालिकाले भर्चुअल (जुम) मार्फत एघारौं नगरसभा आज सम्पन्न गरेको छ । विश्वब्यापी महामारीकोरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण दर उच्च हुँदै गएपछि भर्चुअल माध्यमबाट नगरसभा गरेको हो । ओमिक्रोनको सङ्क्रमण दर उच्च भएसँगै प्रविधिको प्रयोगमार्फत देशमै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्ने वालिङ नगरपालिका पहिलो भएको दाबी नगर प्रमुख दिलीपप्रताप खाँणको छ । २०५४ सालमा आजकै दिन वालिङलाई नगरपालिका घोषणा गरिएको सन्दर्भ पारेर प्रविधिको प्रयोगसहित नगरसभा गरिएको उहाँले बताउनुभयो । नगरसभाका सभासदहरु घर–घरमै वा वडा कार्यालयमा बसेर भर्चुअलमाध्यमबाट सभामा सहभागी हुनुभएको हो । नगरसभाले वालिङ नगरपालिकाको जनस्वास्थ्य विधेयक, २०७८ र शिक्षा ऐन २०७४ को दोस्रो संशोधन कार्यविधि सर्वसम्मतिबाट पारित गरेको छ ।

विधायन समितिका सभापति धनबहादुर कुमालले प्रस्तुत गर्नुभएको जनस्वास्थ्य विधेयक र शिक्षा ऐनको संशोधन कार्यविधिमाथि छलफल गरी सभाले पारित गरेको हो ।त्यस्तै उपप्रमुख कल्पना तिवारीले प्रस्तुत गर्नुभएको बजेट तथा कार्यक्रम संशोधनसम्बन्धी प्रस्ताव र न्यायिक समितिको प्रतिवेदन, कार्यपालिकाले गरेका निर्णयहरुको अनुमोदनसम्बन्धी प्रवक्ता केदार काफ्लेद्वारा प्रस्तुत प्रस्तावमाथि छलफलसहित सभाले पारित गरेको छ ।
लेखा समिति सदस्य जमुना केसीले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन एवम् बेरुजु फछ्र्यौटसम्बन्धी प्रतिवेदन, केसीले नै प्रस्तुत गर्नुभएको पूर्वाधार विकास समितिको प्रतिवेदन, सुशासन समितिका संयोजक अर्जुनप्रकाश अर्यालले प्रस्तुत गर्नुभएको सुशासनसम्बन्धी प्रतिवेदन पारित भएको छ । सामाजिक विकास तथा फोहोरमैला ब्यवस्थापन समितिका संयोजक युगमाया पंगेनीद्वारा प्रस्तुत प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक रेखा थापाद्वारा प्रस्तुत प्रतिवेदन र वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक गीता रनपालद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफलसहित पारित भएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । एघारौं नगरसभालाई भर्चुअल माध्यमबाट गर्नेगरी आवश्यक सम्पूर्ण तयारीहरु पूरा गरेर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो । नगरसभा भर्चुअल माध्यमबाट गर्ने वालिङ नगरपालिका नै देशभरमा पहिलो र नमूना प्रयोग भएको दावी उहाँको छ ।