वालिङ गोल्डकपको उद्घाटन खेलमा आयोजक रातोको विजयी सुरुवात

पुष ३०, २०७९


स्मार्ट संवाददाता, वालिङ
३० पौष २०७९



बिज्ञापन


स्याङ्जाको वालिङमा शनिबारदेखि प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक वालिङ युनाइटेड क्लव रातोले विजयी सुरुवात गरेको छ । युनाइटेड क्लव रातोले लिस्नु क्लव कोटिहवा रुपन्देहीलाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको दोस्रो हाफतर्फ आठौं मिनटमा सकुल गुरुङ्गले गरेको एक मात्र गोल वालिङ (रातो) लाई जित दिलाउन प्रर्याप्त बन्यो । निर्णायक गोलकर्ता सकुल गुरुङ्ग नै म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद ४ हजार र आकर्षक गिफ्ट ह्याम्पर हात पारे ।

यो जितसँगै वालिङ (रातो) सेमिफाइनलमा समेत प्रवेश गरेको छ । वालिङ (रातो) ले सेमिफाइनलमा माघ ३ गतेका दिन हुने अन्तिम क्वाटरफाइनलतर्फ एभनिर एफसी, क्यामरुन र त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं बीचको विजेतासँग खेल्नेछ ।

यसैगरी वालिङ गोल्ड कपको दोस्रो दिन माघ १ गते आइतबार शसस्त्र प्रहरी बल (एपिएफ) र केबिए बीएफएस भरतपुर चितवनका बीच प्रतिस्पर्धा हुने छ । खेल दिउसो साढे एक बजे हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

वालिङ युनाइटेड क्लवको आयोजनामा संचालित प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारी गैह्रेले क्लवले राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गरेर इतिहास रच्ने काम गरेको बताउँदै आयोजक टिमको प्रशंसा गरेकि थिइन। उनले खेलाडीहरुको व्यक्तिगत जीवन रुपान्तरणमा समेत खेलकुदको महत्वपूर्ण भूमिका रहने भन्दै नगर उप प्रमुख गैह्रेले प्रतियोगिता संचालन गर्न पालिकाको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

विभागीय टीम त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल (एपिएफ), साहरा फुटवल क्लव पोखरा, केबिए बीएफएस चितवन, लिस्नु क्लव कोटिहवा रुपन्देही, एभिनेयर फुटवल क्लव अफ्रिका र स्थानीय दुई टीमसहित ८ समूहको सहभागिता रहेको पहिलो वालिङ गोल्ड कप माघ ७ गते समापन गरिने छ ।