नागरिकमैत्री बन्दै वालिङ, नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर संचालनमा

पुष २६, २०७९


स्मार्ट संवाददाता , वालिङ
२६ पुस २०७९

बिज्ञापन

स्याङ्जाको वालिङ नगरपालिका नागरिकमैत्री बन्दै गएको छ। नागरिकका गुनासा सुन्न तथा ती गुनासाहरुलाई व्यवस्थित रुपमा सम्बोधन गर्न पालिकाले स्थापना गरेको कल सेन्टर संचालनमा आएको छ। वालिङबासीहरूले टोल फ्री नं 16606342004, हटलाइन नं 063-597000 , अनलाइन पोर्टल gunaso.walingmun.gov.np र इमेल
gunaso@walingmun.gov.np का माध्यमबाट गुनासो, राय तथा सुझाव राख्न सक्ने पालिकाले जनाएको छ।

नागरिकका वैयक्तिक,पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या तथा नगरपालिकाको काम कारवाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए। नगरपालिकाभित्रका १४ वटै वडाहरुमा नगरले गरेका कामहरु,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गरेका छ्न्। उनले भने ‘सबै जनप्रतिनिधिहरु नागरिकमाझ पुगिनसकेको अवस्था पनि हुनुसक्छ,नागरिकका गुनासाहरु धेरै हुनसक्छन् ,ती गुनासाहरुलाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ ।’

नगरका गतिविधिहरु नागरिकमाझ पुर्‍याउन नगरपालिकाले प्रविधिको बढीमात्रामा प्रयोग गरेको उल्लेख गर्दै नगरप्रमुख खाँणले सामान्य कामको लागि नागरिकले नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने स्थिति नहुने बताए।



नगरपालिकाले सुशासन कायम गर्न कल सेन्टरको स्थापना गरेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले बताइन्।समयको मागअनुरुप नागरिकलाई सहज सेवा प्रवाह गर्न कल सेन्टर फलदायी हुने गैह्रेको विश्वास छ ।

कल सेन्टरमा फोन गर्दा कुनै शूल्क नलाग्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए। डेस्कमा आएका गुनासाहरुलाई सम्बन्धित निकाय तथा शाखा प्रमुखहरुले सम्बोधन गर्ने उनको भनाई छ।