उजुरी राजनीतिका नाममा गरिएको अराजनीतिक खेल: सचिव अर्याल

फागुन ०५, २०७८


५ फागुन २०७८                                                  नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव  तथा पूर्व मन्त्री पदमा अर्यालले अख्तियारमा आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचारका विषयमा पार्टीका नेताहरू विरूद्ध गरिएको उजुरी राजनीतिका नाममा गरिएको अराजनीतिक खेल भएको बताउनुभएको छ। उहाँले नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली लगायतका ५ नेताहरू विरूद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको विषयमा दिइएको उजुरी राजनीतिका नाममा गरिएको अराजनीतिक खेल भएको बताउनु भएको हो।आर्थिक अनियमितता र उजुरीको विषयमा समाचार प्रकाशित भएपछि उहाँले सामाजिक संजाल फेसबुक मार्फत  प्रतिक्रिया दिँदै भन्नुभएको छ,  “उजुरी र अनियमितताबारे धेरैले  चासो राख्नु भएको छ । यस विषयमा मेरो कहिँ कतै संलग्नता छैन ,ढुक्क हुनुहोस । यो राजनीतिको नाममा गरिएको अराजनीतिक खेल हो ।”



के छ उजुरीमा ? : माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू बागमती प्रदेश कमिटीले बिहीबार अख्तियार केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएको हो अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा उजुरी दिइएकाे हाे।।उजुरीमा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवद्वय योगेश भट्टराई र पदमा अर्याल र नेता भानुभक्त ढकालविरुद्ध भ्रष्टाचार प्रकरणमा छानविन गरी कारबाही गर्न माग गरिएको छ ।



तत्कालीन प्रधानमन्त्री ओलीले झापामा रहेको गिरिबन्धु टी स्टेटको अर्बौको जग्गाको सट्टापट्टा गर्न पाउनेगरी संशोधन गरी नीतिगत भ्रष्टाचार गरेको र यसमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री अर्याल पनि संलग्न रहेको भन्दै छानविन गर्न माग गरिएको छ ।

त्यसैगरी ओम्नी ग्रुपसँग स्वास्थ्य सामग्री खरीदमा भ्रष्टाचार गरेको भन्दै तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्‍यमन्त्री भानुभक्त ढकाललाई कारवाही गर्न माग गरिएको छ । त्यसैगरी भिजिट नेपाल २०२० का नाममा राज्यकोषको करोडौं रकम व्यापक हिनामिना गर्ने तत्कालीन पर्यटनमन्त्री भट्टराईमाथि छानविन गरी कारबाही गर्न माग गरिएको छ ।