भीरकोट नगरपालिकाद्वारा वेवारिसे व्यक्तिको उद्धार

भदौ ११, २०८०


स्मार्ट अखबार संवाददाता
११ भाद्र २०८०

स्याङ्जा जिल्ला भीरकोट नगरपालिका स्थायी ठेगाना भएका एक वेवारिसे व्यक्तिको उद्धार गरिएको छ। मानसिक रूपमा बिरामी वडा नं ९ निवासी अन्दाजी २१ वर्षीय मोहिनिलाल भट्टराईलाई उद्धार गरी मानव सेवा आश्रम पोखरा पठाइएको वडा नं ८ वडा अध्यक्ष नन्दलाल खनालले जानकारी दिए ।

जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी

नगर प्रवक्ता एवं वडा नं १ का वडा अध्यक्ष दिपेन्द्र के.सी., वडा नं ८ का वडा अध्यक्ष नन्दलाल खनाल र ९ का वडा अध्यक्ष भीमबहादुर गुरुङको पहलमा भीरकोट नगरपालिकाको सहयोगमा निजलाई उद्धार गरिएको हो। भीरकोट नगरपालिकाको एम्बुलेन्स मार्फत उनलाई पोखरा लगिएको हो। निजका बाबुआमाको मृत्यु भैसकेको, आफन्त कोही पनि सम्पर्कमा नरहेको र अन्य दाजुभाइले नै वेवारिसे छोडेर बसाइँसराइ गरेकाले गाउँहरूले दयाले दिएको खाना खाएर उनले जीवन धान्दै आएका थिए। जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई समेत जानकारी गराई मानव सेवा आश्रम पोखरा पठाइएको नगर प्रवक्ता के.सी. ले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले नागरिकको सुरक्षा र बाच्न पाउने हकको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको पनि भएकाले स्थानीय स्रोत र साधनको प्रयोग गरी निजलाई उद्धार गरिएको बताए l पालिका असाहय, अनाथ, बेसाहाराको साहरा बन्ने प्रयास गरेको उनको भनाइ छ। आज भन्दा १ वर्ष अगाडि पनि पालिकाले त्यस्तै १ जना वेवारिसे व्यक्तिको उद्दार गरेको थियो।

उद्धार गरिएका व्यक्ती वेवारिसे तरिकाले वडा नं ८ र ९ का विभिन्न ठाउँमा भौतारिरहेका थिए। निज उद्धार गरिएका व्यक्तीका परिवार उनलाई वेवारिसे छोडेर तराइतिर बसाइँसराइ गरेको वडा नं ८ का नन्दलाल खनालले जानकारी दिए। परिवारले नै हेला गरि वेवारिसे छाडेको र निजलाई उपचार एवं हेरचाह गर्ने व्यक्ति कोही पनि नभएको हुँदा मानव सेवा आश्रम पोखरा पठाइएको वडा अध्यक्ष खनालले बताए।



उद्धार गरिएका भट्टराईलाई वडा नं ९ को सिफारिस सहित मानव सेवा आश्रम पोखरामा ल्याइएको मानव सेवा आश्रमका कास्की संयोजक सदिश पुनले जानकारी दिए। उनी मानसिक रूपमा कमजोर र बिरामी भएकाले डाक्टरको परामर्शमा उपचार प्रक्रिया अगाडि बढाइने मानव सेवा आश्रमले जनाएको छ।