भीरकोटमा टाइफाइड रोग विरूद्धको खोप चैत्र २७ देखि ३० गते सम्म संचालन गरिने
२१ चैत्र २०७८
भीरकोटमा टाइफाइड रोग विरूद्धको खोप यहि चैत्र २७ देखि ३० गते सम्म अभियानकै रूपमा संचालन गरिने भएको छ। आज नगरपालिकामा आयोजित टाइफाइड रोग विरूद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप सुरूवात सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा सो जानकारी दिइएको हो। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार र सरोकारवालाको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम गरिएको थियो।
विद्यालयहरूमा खोप केन्द्र राखि १५ महिना देखि १५ वर्ष सम्मका सबैलाई टाइफाइड विरूद्धको खोप लगाइने नगर स्वास्थ्य शाखाले जनाएको छ। भीरकोटमा तोकिएको उमेर समुहका ६२७४ जनालाई टाइफाइड विरूद्धको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख नारायणबन्धु अर्यालले जानकारी दिनुभयो।
नेपालमा हरेक वर्ष ४ लाख ५० हजार भन्दा बढी टाइफाइड रोगबाट संक्रमित भएको पाइएकोले टाइफाइड विरूद्धको खोप नियमित खोप अभियानमा समावेश गरिएको हो।१५ महिना देखि १५ वर्ष उमेर समुहमा संक्रमणको जोखिम ११ गुणा बढी पाइएकाले उक्त उमेर समुहलाई लक्षित गरेर खोप कार्यक्रम संचालन गरिएको हो।नगर स्वास्थ्य शाखाले खोप अभियानलाई सफल बनाउन सरोकारवाला सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ। यसैगरी नगर प्रमुख छायाराम खनालले खोप अभियानलाई सफल बनाउन नगरपालिकाका सम्पूर्ण स्रोत र साधनलाई परिचालन गर्न निर्देशन दिनुभएको छ।
टाइफाइड के हो?
टाइफाइड ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो।यो रोग Salmonella Typhi र S. Paratyphi A,B, C ब्याक्टेरियाबाट हुन्छ।यो सूक्ष्म जिवाणु संक्रमित व्यक्तिको दिशाको माध्यमबाट बाहिरी वातावरणमा पुग्दछ र स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ।यो जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्दछ तर १५ वर्ष मुनिका बालबालिकाहरूमा संक्रमण दर र रोगको जटिलता उच्च देखिएको छ।
टाइफाइडका लक्षणहरू के के हुन्?
मुख्य लक्षणहरू
-उच्च ज्वरो
-जाडो हुने , पसिना आउने
-टाउको दुख्ने, जीउ दुख्ने
-जिब्रोमा सेतो लेत लाग्नु
अन्य लक्षणहरू:
-पेट दुख्ने, पखाला लाग्ने वा कब्जियत देखिन सक्ने
-शरिरमा हल्का रातो उठेको बिमिराहरू आउन सक्ने
-सुख्खा खोकी लाग्ने
-भोक नलाग्ने
-वाकवाकी लाग्ने
जटिलताहरू
-सानो आन्द्रामा घाउ हुने, रगत बग्ने, प्वाल पर्ने
-संक्रमण शरिरका अन्य भागमा फैलन सक्छ।
-मस्तिष्क सम्बन्धि जटिलताहरू
सुरक्षाका उपायहरू
-सधैं सफा चर्पीको प्रयोग गर्ने, बच्चाको दिशा पिसाब पनि चर्पीमै फाल्ने
-बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुने
-राम्ररी पकाएको खाना मात्र खाने र खाने कुरालाइ सधैं छोपेर राख्ने
-बासी सडेगलेको र झिंगा भन्केको खाना कहिल्यै नखाने
सधैं सफा र सुरक्षित पिउने पानीको प्रयोग गर्ने
रोगको उपचार र रोकथामका उपायहरू
-रोग लागेमा समयमै स्वास्थ्य केन्द्रमा गइ उपयुक्त प्रतिजैविक औषधि लिने,
-१५ महिनाको उमेरमा १ मात्रा खोप लिने Typhoid Conjutee Vaccine , TCV
-स्वास्थ्य र सरसफाइ प्रवर्द्धन गर्ने