भरपर्दो र व्यवस्थित बन्दै भीरकोट कालिका यातायातको सेवा

भदौ ०२, २०८०


स्मार्ट अखबार सम्बाददाता, भीरकोट

२ भाद्र २०८० , शनिवार

भीरकोट नगरपालिकाको ग्रामिण क्षेत्रमा यातायात सेवा प्रदान गर्दै आएको भीरकोट कालिका यातायात प्रा. लि. ले  यातायात सेवालाई भरपर्दो र व्यवस्थित बनाउने प्रयास गरेको छ l भीरकोट कालिका यातायातले  १६ वटा महिन्द्रा  जिप मार्फत विशेषगरी भीरकोट नगरपालिकाका वडा नं १,२,३ र ४ का बासिन्दा र भीरकोटसँग सिमाना जोडिएका विरुवा गाउँपालिका र वालीङ नगरपालिका बासिन्दाहरूलाई  सेवा प्रदान गर्दै आएको  छ l   भीरकोट कालिका यातायातले यही भाद्र १ गतेदेखि लागु हुनेगरी सवै सवारी साधनको रुट र समयतालिका निर्धारण गरेको संस्थाका अध्यक्ष रूद्र बहादुर सेनले जानकारी दिए l

संस्थाका कार्यालय सचिव धन बहादुर के. सी. का अनुसार बिहानको समयमा सवारी साधनहरू आफु अनुकुलको समय र स्थानबाट बयरघारी बजार आउने गरेको भएपनि बिहान १०.३० बजेदेखि तोकिएको रूटमा संचालन हुने बताए l सबै सवारी साधनले जिल्ला प्रशासन कार्यालय तोकेको भाडादर लिएको उनको दाबी छ l सार्वजनिक सवारी साधनलाई मात्रै समितिमा आवद्ध गराइएको संस्थाले जनाएको छ l

गत साउन २ गते बसेको संस्थाको साधारण सभाले रूद्र बहादुर सेनको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो l अध्यक्ष सेनले जिम्मेवारी समालेपछि साउन २७ गते बसेको समितिको बैठकले सवारी साधनको रुट र समय तालिका निर्धारण गरेको हो l बयरघारीदेखि बानेथोक , देउराली, गुमार्दी, ओल्याङदी , रिजु, रोजीखोला, रानीस्वारा लगायतका  रूटमा समयतालिका अनुसार सवारी संचालन गरिएको छ l  यसअघि सवारी साधनहरू आफूअनुकुलको समय र रूटमा संचालन हुँदै आएका थिए l



जनस्वास्थ्यका लागि स्मार्ट अखबारद्वारा जनहितमा जारी