आज हरितालिका तीज मनाईंदै ।

भदौ २४, २०७८


भदौ २४, भीरकोट खबर डेस्क,

नेपाली नारीहरूको महान पर्व तीजको रौनक देशभरी नै छाएको छ । भाद्र शुक्ल तृतीयाको दिन मनाइने यो पर्वमा  विशेषगरी हिन्दु नारीहरूले आफ्नो पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहार व्रत बसी मनाउँछ्न् । कोरोनाको सन्त्रासका बिच पनि नेपाल तीजमय बनेको छ । तीजमा विवाहित नारीहरू आफ्ना माइतीघर जाने प्रचलन कायमै छ ।दाजुभाइहरूले आफ्ना दिदिबहिनीहरूलाई  माइतीमा निमन्त्रणा गरी दर खुवाउने चलन छ । विवाहित नारीले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै निराहार व्रत बस्छन् बने नवयौवनाहरूले आफूले सोचेअनुसारको असल, सक्षम पति पाइयोस् भनी व्रत बस्छ्न् । हिन्दु नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी हुनाले आजको दिनमा निराहार व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद्हरू नै बताउँछन् । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

दर खाने दिनदेखी पञ्चमीसम्म नै सबै नारीहरू विशेषगरी रातो सारीमा सजिएर समुहमा जम्मा भै नाचगान पनि गर्दछ्न् ।पारिवारिक र सामाजिक सम्बन्धलाई समेत मजबुत बनाउने यो पर्व आजभोलि हिन्दुहरूको मात्रै नभएर सबैको सबैको साझा बन्दै गएको छ ।

परम्परादेखि नारीहरूको सौभाग्यका लागि मनाइने यो पर्व आधुनिक बन्दै गएको छ । तीजको एक दिन अघि खाइने दर आजभोलि महिनौं पहिले देखि खान थालिएको छ । तामसी भोजनमा रमाउने प्रचलन बढ्दो छ । आजभोलि तिज त्याग, समर्पण, पारिवारिक एवं सामाजिक मेलमिलापको पर्व भन्दा पनि सम्पत्तिको रवाफ देखाउने भड्किलो र आधुनिक पर्व बन्दै गएको छ । यो सांस्कृतिक विचलनले तीजको गरिमा र महत्वलाई कमजोर बनाएको छ ।

आफ्ना सुख दु:खलाई आफ्नै रचना र परम्परागत शैलीमा गाइने तीज गीतको सट्टामा पहिले नै रेकर्ड गरिएका गीतमा कम्मर मर्काउने नयाँ परम्पराले जरो गाड्दै गएको छ । सिर्जनाका प्रतीक नारीहरूहरूमा सिर्जना र मौलिकता हराउँदै जानु दु:खद हो । नारीहरूमा अन्तर्निहित गीत सृजना, गायन र नृत्यको जन्मजात प्रतिभालाई वेवास्ता गर्दै स्पीकर बजाएर नाच्ने चलनले तीजको महिमालाई स्खलित गरेको छ । गहना र पोशाकको  प्रतिस्पर्धाले समाजको आर्थिक असमानताको दृश्यलाई मात्र नभै महिलाको परनिर्भरताको पराकाष्ठालाई पनि देखाइदिएको छ ।



तीजको गरिमा र मौलिकतालाई जोगाउनु हामी सबैको कर्तव्य हो । आधुनिकतामा नाममा देखिएका सांस्कृतिक विचलनलाई चिर्दै मौलिकता र आत्मनिर्भरतामा रमाउन आवश्यक छ । सादा जीवन उच्च विचारको मर्म अनुसार गहना कपडाको प्रतिस्पर्धाबाट बाहिर निस्किएर सामुहिक रुपमा समान खाले पोशाक र सामान्य गहनामा रमाउन सके तीज सामाजिक सद्भाव र मेलमिलापको पर्व बन्छ । दरका नाममा महिनौं गरिने अनावश्यक खर्चलाई सामाजिक कल्याणका निम्ति प्रयोग गर्नु हितकारी हुन्छ । मादलको घिन्ताङ घिन्ताङ तालमा आफ्नै सुख दु:खलाई गाउँदा तीज परम्परागत र मौलिक बन्छ । पति पत्नीबिचको माया, सद्भाव र सहकार्य सदावहार हुँदा दुबैको स्वास्थ्य राम्रो हुन्छ । परिवारमा सुख शान्ति र समृद्धि हुन्छ । तीजमा मात्र नभै दाजुभाइ दिदिबहिनीबिच हुने नियमित भेटघाट र सम्पर्कले आत्मीयतालाई दीगो राख्छ । हामी सबैको साझा प्रयासले तीज मौलिक बन्दै जाओस् । सम्पूर्ण नेपाली नारीहरूलाई तीजको हार्दिक मङ्गलमय शुभकामना ।