भीरकोटमा व्यवसायीहरूलाई करदाता शिक्षा

साउन २०, २०७९


स्मार्ट अखबार संवाददाता
२० साउन २०७९

स्याङ्जाको भीरकोट नगरपालिकाका व्यवसायीहरूलाई करदाता शिक्षा प्रदान गरिएको छ। करदाता सेवा कार्यालय, स्याङ्जाको आयोजना र भीरकोट उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा पालिकाभित्र उद्योग, व्यापार र व्यवसाय गर्ने व्यवसायीहरूलाई करदाता शिक्षा प्रदान गरिएको हो।

आँधिखोला सिटीहलमा संचालन भएको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा करदाता सेवा कार्यालय,स्याङ्जाका कर अधिकृत शोभाकान्त पंगेनीले
व्यवसायीहरूलाई प्रशिक्षण दिनुभएको थियो । पालिकाभित्र व्यवसाय गर्ने करिब १०० जनाको सहभागिता रहेको कार्यक्रममा कर अधिकृत पंगेनीले आयकर, स्थायी लेखा नम्बर , करका प्रकार, करको दायरा, आर्थिक ऐन, आयकर ऐन, कर , शुल्क, व्याज, दण्ड जरीवाना, इटिडिएस, करदाता पोर्टलको प्रयोग, आर्थिक वर्ष २०७९/८० को बजेटमा भएको करसम्बन्धि व्यवस्था लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।

भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदिश प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन भी.उ.वा का महासचिव चोपनारायण श्रेष्ठ र उपस्थित व्यवसायीहरूलाई स्वागत वरिष्ठ उपाध्यक्ष नुवादत्त अर्यालले गर्नुभएको थियो।



कर सम्बन्धि विविध जानकारी पाएपछि व्यवसायीहरू खुशी भएका छ्न्। “कर सम्बन्धि सामान्य जानकारी नहुँदा व्यवसायीहरूले अनावश्यक झमेला र जरीवाना लगायतका समस्या झेल्नु परेको थियो।” व्यवसायी केशर बहादुर खत्रीले भन्नुभयो, ” करदाता शिक्षा कार्यक्रम उद्योग वाणिज्य संघको पहलमा संचालन भएको अहिलेसम्मकै सबैभन्दा राम्रो काम हो।”

भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष जगदीश प्रसाद कोइरालाले सहभागी व्यवसायीहरूलाई आफूले गरेको व्यवसायको राम्रो हिसाब किताब राख्न र तिर्नुपर्ने करको बारेमा जानकार रहन आग्रह गर्नुभएको थियो। उहाँले करदाता शिक्षा कार्यक्रमको आयोजना गरेकोमा करदाता सेवा कार्यालय,स्याङ्जा र करदाता शिक्षा कार्यक्रममा सहभागी व्यापारी र व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। अध्यक्ष कोइरालाले कार्यक्रमलाई सफल र उपलब्धिमूलक बनाउन सहजीकरण गरेकोमा भीरकोट नगरपालिकालाई समेत विशेष आभार प्रकट गर्नुभएको थियो।